नयाँ ब्रान्ड मोर्बिडेलीका दुई मोटरसाइकल लन्च, यस्ता छन् विशेषता


काठमाडाैँ । इटालियन डिजाइनमा आधारित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा आफ्ना दुई नयाँ मोडेलहरू टि ३५२एक्स र टि २५२ एक्स रूपमा सार्वजनिक गरेको छ।

अटोमोबाइल प्रदर्शनीमार्फत कम्पनीले पहिलोपटक यी साहसिक मोटरसाइकलहरू नेपाली बजारमा प्रस्तुत गरेको हो। नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राखि डिजाइन गरिएका यी मोटरसाइकलहरू एड्भेन्चर र सहर दुबै खालका यात्राका लागि उपयुक्त रहेका कम्पनीकाे दाबी छ ।

कम्पनीका अनुसार टि ३५२ एक्स्पाे एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो, जसमा ३४९.२ सीसीको ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन रहेको छ। यसले ४०.९ एचपी पावर र ३१.५ एनएम टर्क उत्पन्न गर्छ। यसमा ६-स्पीड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच र ७-इन्चको टिएफटि डिस्प्ले जडान गरिएको छ, जुन ‘मोर्बिडेली कनेक्ट’ एपसँग एकीकृत छ।

अफ-रोड ह्यान्डलिङका लागि पिरेली स्कॉर्पियन टायर, यूएसडि फ्रन्ट फोर्क र मल्टि-लिङ्क रियर सस्पेन्सन जस्ता विशेषताहरू छन्। १८ लिटरको इन्धन ट्याङ्की रहेको टि ३५२ एक्स को शोरूम मूल्य ९ लाख ९७ हजार रुपैयाँ तोकिएको छ भने एक्स्पो अवधिमा बुकिङ गर्दा ९ लाख २३ हजार रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ।

यता टि२५२ एक्स मोडेल स्टाइल, सहजता र किफायती मूल्यको समायोजनमा आधारित छ। विशेषतः युवा र प्रारम्भिक चरणका मोटरसाइकल प्रयोगकर्तालाई लक्षित गर्दै डिजाइन गरिएको यो मोटरसाइकल २४९ सीसीको ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिनसहित आएको छ, जसले ३३.५ एचपी पावर र २१.५ एनएम टर्क प्रदान गर्छ। यसमा पनि ६-स्पीड गियरबक्स, डुअल च्यानल एबीएस, स्लिपर क्लच, १७ इन्च एलोय ह्वील, यूएसडि फ्रन्ट फोर्क र टिएफटि डिस्प्ले उपलब्ध छन्।

कार्यक्रममा बोल्दै मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिन यी मोटरसाइकलहरू नेपाली बजारमा ल्याइएको बताए।