पाथीभरामा केबलकार निर्माण गर्न आवश्यक छैनः सांसद तिमिल्सिना


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले पाथीभरामा केबलकार निर्माण गर्न दिनु नहुने बताएकी छन् ।

बुधवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले पाथीभरामा केबलकार निर्माण गर्न सरकारले निकुञ्जको पनि प्रयोग गर्न दिएको र यस्ता कुराहरू रोक्नुपर्ने बताएकी हुन् ।

उनले आवश्यक परेका ठाउँमा बाहेक अन्य ठाउँमा केबलकार बनाउन दिन नहुने बताइन् । पाथीभरा केबलकार पनि बनाउन आवश्यक नरहेको उनकाे भनाइ छ । 

“यो केबलकार निर्माणको कुरा छ । केबलकारको कुरा गर्दा सरकारलाई बनाउन मन लाग्यो भने पाथीभरामा निकुञ्जबाट नै छुट्टै राखेर त्यहाँ एउटा उद्योगपति, व्यापारीलाई सरकारले त्यहाँ बनाउनलाई दियो । जनताले नमान्दा नमान्दै । हामीले पनि धेरै कुरा बोल्यौँ तर सुनेन । सरकारले यस्तो गर्नसक्छ । तर यस्तो गर्दछ भनेर हामीले छोड्न सक्दैनौँ,” उनले भनिन् ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले आधारभुत विकासका आयोजनामा केबलकार नपर्ने बताइन्। उनले आधारभुत विकासका आयोजनाहरूमा खानेपानी, शिक्षा, स्वास्थ्य, प्रशरण लाइन लगायत मात्रै पर्ने बताइन्।समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको हो ।