काठमाडाैँ । बुधवार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा एकाएक फरक दृश्य देखियो । नेपाली काँग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौला रिसाएको ।
धेरै काँग्रेसजनले समेत नेता सिटौला रिसाएको देखेका छैनन् तर समितिका सांसद सदस्यले आज त्यो रुप पनि देख्न पाए । समितिको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव शिशिर कोईरालाको अभिव्यक्तिमा सिटौलाको रोष देखिन्थ्यो ।
समितिमा जलश्रोत विधेयक, २०८१ को मस्यौदाउपर छलफल चलिरहेको थियो । समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सहसचिव कोईरालाले नदीनालाको पानी उपयोग गर्नका लागि सरकारले जल तथा उर्जा आयोगसँग अनुमति लिनुपर्ने आशयको अभिव्यक्ति दिए।
सचिव कोइरालाले उपयोग सरकारले गर्ने भएपनि त्यसका लागि आयोगसँग अनुमति लिनुपर्ने र कति दिने त्यसको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयोगको हातमा साँचो हुनुपर्ने धारणा राखेका थिए । स्थानीय, प्रदेश र संघ सरकारले आफ्नो मनोमानी ढंगले उपयोग गर्ने भए नियन्त्रण बाहिर जाने सहसचिव कोइरालाको आशय थियो ।
सहसचिव कोइरालाले बोलि नसक्दै सिटौलाको अनुहारमा आक्रोश आइसकेको थियो । सहसचिव बोलिसकेपछि सभापतिलाई रोकेर प्रतिवाद गरे। काँग्रेस सांसद सिटौलाले कर्मचारीतन्त्रले मन्त्रीपरिषद्लाई नियन्त्रण गर्नेकुरा सह्य नहुने चेतावनी दिए । बैठकमा सबै हेरेर बसिरहेका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई संकेत गर्दै आफ्ना कर्मचारीहरुलाई बोल्ने तरिका सिकाएर पठाउन पनि आग्रह गरे ।
सांसद सिटौलामात्र हैन नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाललेपनि आफ्नो असन्तुष्टि र आक्रोश मिसिएको भावमा सहसचिव कोईरालालाई चेतावनी दिए। देशको जलश्रोत तपाईंले कमाएको तलव जस्तो हो ? भन्दै प्रश्न गरे। नेपाल सरकारको सम्पती सरकारले चाहेको जसरी प्रयोग गर्नसक्ने उनकाे तर्क थियो । आयोग सरकार मातहतकै भएकाले सरकारले आयोगको अनुमति लिइरहन नपर्ने बताए ।
समितिको बैठकमा वादविवाद सुनिरहेका उर्जा जलश्रोत तथा सिंचाईमन्त्री खड्काले सहसचिव कोईरालाको बचाउ गर्दै संघीयतामा गइसकेपछि अधिकार प्रत्यायोजित हुनुपर्ने आशयले धारणा राख्नुभएको स्पष्टीकरण दिए ।
समितिको बैठकमा बुधवार जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल भएको हो । पछिल्लो समय संसदीय समितिमा यस प्रकारका नोकझोक प्राय देखिन्छ । समितिको छलफल बैठकमा आउने मन्त्रालयका उच्चतहका कर्मचारीले सांसदहरूलाई घुमाउरो तरिकाले हेप्ने भाषा प्रयोग गर्ने, केहि नजानेको वर्ग जस्तो प्रतिवाद गर्ने देखिन्छ ।
यता सांसदहरू पनि विषय र सन्दर्भमा अध्ययन र तयारि बिना आउने र छलफलमा सतही र आफुअनुकुलको विषयमात्र बोल्ने परिपाटीले द्वन्द्व निम्तिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्