काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान औद्योगिक सम्पत्तिसम्बन्धी कानूनहरू देशका लागि पर्याप्त नभएको बताएका छन्।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा औद्योगिक सम्पतीसम्बन्धी विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री भण्डारीले निजी क्षेत्रलाई समेत समेटेर नविनता र स्टार्टअप प्रवद्र्धन गर्न नयाँ कानून आवश्यक रहेको बताए।
मन्त्री भण्डारीले हाल लागू रहेको कानूनले आफ्नै सम्पत्तिको सुरक्षा गर्न समेत कठिनाइ भएको उल्लेख गर्दै, औद्योगिक उत्पादन र व्यापारिकरणका लागि निजी क्षेत्रसँग सहकार्य अनिवार्य भएको बताए।
उनले भने, “हाम्रो औद्योगिक सम्पती सम्बन्धी वर्तमान अभ्यास पर्याप्त छैन। हामी आफैंले आफ्ना सम्पत्ति संरक्षण गर्न सकिरहेका छैनौं। विश्वव्यापारको प्रतिस्पर्धात्मक वातावरणमा हामीले स्टार्टअप र नविनतामा ठूलो छलाङ मार्नुपर्ने अवस्था छ, जुन अहिलेका कानुनहरूले सम्भव बनाएका छैनन्। त्यसैले उत्पादन र व्यापारिकरणका लागि नयाँ, समावेशी कानून आवश्यक छ।”
विधेयकमाथि भएको छलफलमा सांसदहरूले औद्योगिक सम्पत्तिको सुरक्षा र प्रवद्र्धनका लागि उक्त विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्