काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि सुरू भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सवारीसाधन प्रेमीहरूका लागि विशेष अवसर बनेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डले आफ्ना अत्याधुनिक मोडेलहरू भव्य अफर तथा छुटसहित प्रस्तुत गर्दै एक्स्पोको माहोललाई सजीव बनाएका छन्।

साउन २५ गतेसम्म सञ्चालन हुने यो प्रदर्शनी नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो र समावेशी अटो साे हुने दाबी आयोजक नाइमा (नेपाल अटोमोबाइल इन्डस्ट्री मोवमेन्ट एसोसिएसन) को छ। एक्सपाेमा महेन्द्रा बीई–६ र एक्सईभी–९, जेक्को जे–५, म्याक्सस मिफा–७ फरथिङ फ्राइडे, बीवाईडी एट्टो वान लगायतका नयाँ मोडेलहरू भव्य रूपमा सार्वजनिक गरिएका छन्।
एक्स्पोमा सहभागी कम्पनीहरूले विभिन्न ब्रान्डका सवारीसाधनमा उच्च छुट, नगद अफर, निःशुल्क सर्भिसिङ, चार्जिङ सुविधा, बिमा लगायत आकर्षक योजनाहरू प्रस्तुत गरेका छन्। सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी यो एक्स्पो छुट र अवसरको पर्व बनेको छ।

एक्सपाेमा चिनियाँ ब्रान्ड जिकर लाई नेपाल भित्र्याउने पायोनियर मोटोकर्पले ग्राहकका लागि झण्डै १५ लाख रुपैयाँ बराबरको छुट दिएको छ। पहिले ८४ लाख ९९ हजारमा मूल्याङ्कन गरिएको यो प्रिमियम इलेक्ट्रिक कार अहिले ६९ लाख ९९ हजारमा उपलब्ध छ। यस्तै, निसानले लोकप्रिय इलेक्ट्रिक कार ‘लिफ’ को मूल्यमा ठूलो कटौती गर्दै २० लाख रुपैयाँ सस्तोमा उपलब्ध गराएको छ। पुरानो मूल्य ६४ लाख ९९ हजार रहेको निसान लिफ अहिले ४४ लाख ९९ हजार रुपैयाँमै किन्न सकिने भएको छ।

जिओ अटोमोबाइल र लक्ष्मी ई मोबिलिटीले संयुक्तरूपमा प्रस्तुत गरेको केई एक्सथ्री प्रो इलेक्ट्रिक कारमा ८ लाख ९० हजार रुपैयाँको नगद छुट दिइएको छ। यो सवारीसँगै आठ वर्षको वारेन्टी, छ वर्ष निःशुल्क सर्भिसिङ तथा चार्जिङ सुविधा समेत प्रदान गरिएको छ। त्यस्तै, लक्ष्मी ई मोबिलिटीकै अर्को ब्रान्ड ‘फरथिङ फ्राइडे’ मा ६ लाख रुपैयाँको अफर दिइएको छ। एक्स्पो अवधिभर मात्र लागु हुने यस छुटपछि यो एसयूभीको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

एपीजी अटोमोबाइल्सले सार्वजनिक गरेको ओमोडा-जेको जे५ एसयुभीमा ४ लाख रुपैयाँको छुट दिइएको छ। एक्स्पो अवधिमा यसको मूल्य ५६ लाख ९९ हजार रहेको छ भने एक्स्पो समाप्तिपछि ६० लाख ९९ हजार पर्नेछ।
हुण्डाई ब्रान्डले ‘अवेसम अगस्ट’ योजना अन्तर्गत आठ लाख रुपैयाँसम्मको छुटका साथै एक वर्षको निःशुल्क बिमा योजना, तीन वर्षको वारेन्टी तथा बम्पर पुरस्कारस्वरूप भियतनाम भ्रमणको अफर पनि ल्याएको छ। साइमेक्स इन्क प्रा.लि.ले बीवाईडीको एटो-३ ह्याचब्याकको दुई भेरियन्ट डाइनामिक र प्रिमियम बजारमा ल्याएको छ। डाइनामिक मोडेलको मूल्य २८ लाख ९५ हजार र प्रिमियमको ३२ लाख ९५ हजार निर्धारण गरिएको छ।

हिमालयन मोट्रक्सले प्रस्तुत गरेको प्रिमियम इलेक्ट्रिक एमपीभी ‘म्याक्सस मिफा ९९’मा १० लाख रुपैयाँसम्मको छुट दिइएको छ। पूर्व मूल्य एक करोड २५ लाख रहेको यो मोडेल छुटपछि बुकिङका लागि खुला गरिएको हो। एक्स्पोमा ग्राहकको पहुँच र सुविधा थप सहज बनाउने उद्देश्यले पठाओले भृकुटीमण्डपसम्मको यात्रामा ३० प्रतिशत छुटको व्यवस्था गरेको छ। स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै फ्रन्टलाइन हस्पिटलले २४ सै घण्टा एम्बुलेन्ससहित आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
यसैबिच, एक्स्पोमा सहभागीहरूको सिर्जनात्मकता बढाउन नाइमाले भिडियो प्रतियोगिता पनि सञ्चालन गरेको छ। एक्स्पोसँग सम्बन्धित भिडियो पोस्ट गरेर सहभागीहरू एक लाख रुपैयाँसम्म जित्न सक्नेछन्। उत्कृष्ट १० भिडियोलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

नाइमा अध्यक्ष रितु सिंह वैद्यका अनुसार यो प्रदर्शनी नेपालमा प्रविधि, नवप्रवर्तन र स्मार्ट मोबिलिटीतर्फको यात्रामा ऐतिहासिक कोसेढुंगा बन्नेछ। संयोजक शिरीष कुमार मराबले भविष्यमा स्वच्छ, सुरक्षित र स्मार्ट यातायातका सम्भावनाहरूमा ध्यान केन्द्रित गर्दै ३५ नयाँ मोडेलहरू सार्वजनिक गरिएकाे जानकारी दिए ।
दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारीसाधन समावेश गरिएको यस प्रदर्शनीमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।
प्रतिक्रिया दिनुहोस्