गृह प्रशासनको प्रयोग गरेर मिडियालाई निस्तेज पार्ने काम सह्य हुँदैनः राजेन्द्र पाण्डे


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकार निरंकुशतातिर प्रवेश गरेको बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारमाध्यमहरू अब गृह मन्त्रालयअन्तर्गतका निकाय (जिल्ला प्रशासन कार्यालय) मा दर्ता हुनुपर्ने प्रावधान सरकारले ल्याउन लागेको हो ? भन्ने प्रश्नमा उनले गृह प्रशासनको प्रयोग गरेर सञ्चारमाध्यमलाई निस्तेज पार्ने काम सह्य नहुने चेतावनी दिए । सञ्चारमाध्यमहरुले पनि सत्यतथ्यमा आधारित समाचार मात्रै दिनुपर्ने बताए । 

“मिडियाका सन्दर्भमा सरकारले गृह प्रशासनलाई नै प्रयोग गर्दै जुन ढंगले मिडियाको मुख बन्द गराउन प्रयत्न गरेको देखिन्छ । यो अनुपयुक्त हो । सत्यतथ्यमा आधारित समाचार दिने कुरामा मिडिया लाग्नुपर्छ । आफ्नो अनुशासनमा रहनुपर्छ । तपाईंहरुलाई कारबाही गर्ने, गलत समाचार छापिदिएर कारबाही गर्नुपर्ने प्रेस काउन्सिलले नै टुंगो गर्ने हो,” उनले भने।