सरुवा–बढुवाका लागि मन्त्री र सचिव भेट्नुपर्ने कर्मचारी मनोविज्ञान अन्त्य गर्छुः मन्त्री न्यौपाने


काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरुवा तथा बढुवा प्रणाली पारदर्शी र नीति आधारित बनाउन आवश्यक बताएकी छन् ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा प्रेस चौतारी नेपालका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताएकी हुन् । दिनैपिच्छे सरुवा हुने तथा  कर्मचारीले सुरुवा बढुवाका लागि सचिव वा सहसचिवलाई भेट्नैपर्ने संस्कृतिको विकास हुँदा प्रशासनिक संयन्त्रमाथि व्यापक प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

उनले मन्त्री र सचिवलाई भेटेपछि मात्र सरुवा हुने मनोविज्ञानको अन्त्य गर्न जरुरी रहेको बताइन् । उनले सरुवा र बढुवा अनुमानमा आधारित तथा पारदर्शी तरिकाले हुने प्रणालीको विकास गरेर प्रत्येक कर्मचारीले आफ्नो अवस्थाको सहज आँकलन गर्न सक्ने वातावरण बनाउनेमा आफ्नो जोड रहने बताइन् । उनले कर्मचारीको सरुवा र बढुवाका लागि कर्मचारीले पैसा खर्च गर्ने संस्कारको अन्त्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्। 

न्यौपानेले आफू पादरर्शी रहँदा रहँदै पनि आफ्नो नाम दुरुपयोग हुनसक्नेतर्फ पनि सचेत रहेको बताइन् । उनले आफ्नो नामको दुरुपयोग गरेर सरुवाको नाममा घुस मागेको खण्डमा त्यसबारे जानकारी दिन सार्वजनिक रूपमा आग्रह पनि गरिन्। 

“यो मन्त्री लोभी छ कि भन्ने कसैले सोचिरहनु भएको छ भने किमार्थ त्यस्तो नसोचिदिनुहोला । म त सामान्य जीवन जिउने मान्छे हो । मैले आफूले सामान्य जीवन बिताएर राष्ट्र लाई योगदान गर्छु भनेर कमिटमेन्ट गरेर आएको मान्छे हो ।  तर कसै अरुले मेरो नामको दुरुपयोग गर्ने कुरालाई पनि मैले त्यतिक्कै हेर्नुपर्नेछ । यदि त्यसो गरेको कसैले थाहा पाउनुभयो भने त्यो कुरा मलाई दिएर सहयोग गरिदिनुहोला,” उनले भनिन् ।

उनले कर्मचारीको सरुवा बढुवालाई पारदर्शी बनाउँदै प्रशासनिक सेवालाई प्रभावकारी प्रतिवद्धता व्यक्त गरिन् ।