काठमाडौँ । बुधबारदेखि सुरू भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिनमै करिब १५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा) द्वारा आयोजित एक्स्पोको उद्घाटन उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका थिए ।
उद्घाटन समारोहमा मन्त्री पौडेलले छोटो अवधिमा यति ठूलो स्तरको प्रदर्शनी आयोजना गरेर नाइमाले आफ्नो कार्यकुशलता प्रमाणित गरेको टिप्पणी गरे । उनले सरकार उद्योगमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउँदै, गुणस्तरीय सडक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए । भौतिक पूर्वाधारबिना अटोमोबाइल क्षेत्रमा भएको लगानीको प्रभावकारी उपयोग हुन नसक्ने स्पष्ट पार्दै उनले पूर्वाधार निर्माणमा सरकार गम्भीर रहेको बताए ।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले नेपाली अटोमोबाइल क्षेत्रको इतिहासमै यो सबैभन्दा ठूलो प्रदर्शनी भएको उल्लेख गर्दै नवप्रवर्तन, सहकार्य र दिगो विकासतर्फको प्रयासमा यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। उनका अनुसार मोबिलिटी क्षेत्रले नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी रोजगारी सिर्जना गरिरहेको छ भने यस क्षेत्रले कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशत योगदान दिइरहेको छ।
त्यस्तै, एक्स्पो समितिका प्रमुख शिरीष कुमार मुरारकाले उक्त प्रदर्शनी केवल सवारी साधन र प्रविधिको प्रदर्शन मात्र नभई सफा, स्मार्ट र समावेशी यातायात प्रणाली निर्माणतर्फको सामूहिक प्रतिबद्धताको सुरुआत भएको उल्लेख गरिन्। उनले पाँच दिनसम्म चल्ने यो एक्स्पो सफल बनाउन सबै पक्षको सहकार्य र सहभागिता अपेक्षित रहेको बताइन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहेको छ। एक्स्पोको पहिलो दिनमै विभिन्न ब्रान्डहरूले आफ्ना नयाँ सवारी मोडेलहरू सार्वजनिक गरेका छन्।
प्यासेन्जर सेग्मेन्टमा बीवाईडी एट्टो वान, हेनरी भोल्टसको सी प्रो, लिपमोटर बी–१०, फरथिङ फ्राइडे, जेक्को जे फाइभ, म्याक्सस मिफा ७, महिन्द्राको बीई ६ र एक्सईभी ९, फक्सवागनको भर्टुस र टाइगुनलगायत आकर्षक मोडलहरू सार्वजनिक गरिएका छन्।
त्यस्तै, कमर्सियल सेग्मेन्टमा क्यारीका दुई माइक्रोभ्यान, फारिजोनको १९ सिटे माइक्रोभ्यान, चेरी वान्डा ब्रान्डको १४ सिटे इलेक्ट्रिक माइक्रोभ्यान, स्काईवर्थका नयाँ मोडेलसहित झन्डै आधा दर्जन नयाँ कमर्सियल ईभी भ्यानहरू सार्वजनिक भएका छन्।
दुई पांग्रे सवारीतर्फ याडिया ब्रान्डका ३ मोडल, सेग्वेयका ४ मोडल, नयाँ ब्रान्ड मोर्बिडेलीका २ मोडल, केटीएमका ६ मोडल, एथरको रिज्टा, टिभीएसका ४ मोडल र बजाज चेतकलगायतका ब्रान्डका विभिन्न मोडलहरू पनि सार्वजनिक गरिएका छन्।
साउन २१ गतेदेखि २५ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने यो एक्स्पोका आगामी दिनहरूमा थप अवलोकनकर्ताको उल्लेखनीय उपस्थित हुने आयोजकको अपेक्षा छ।
प्रतिक्रिया दिनुहोस्