काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा हिजाेदेखि सुरू भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा युवापुस्तालाई लक्षित गर्दै विभिन्न कम्पनीहरूले नयाँ मोडलका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक गरेका छन्।
प्रिमियम डिजाइन, आधुनिक प्रविधि र अफरको भरमारले गर्दा दुई पाङ्ग्रे सवारीसाधनप्रति विशेषगरी जेनजी पुस्ताको आकर्षण उल्लेखनीय देखिएको छ।
एक्स्पोमा केटीएम नेपालले एकैपटक ६ ओटा नयाँ मोडल सार्वजनिक गर्दै आफ्नो बजार पकड अझ बलियो बनाउने संकेत दिएको छ। कम्पनीको स्टल डी१, हल ‘डी’ मा राखिएका २०० ड्युक, २५० ड्युक, ३९० ड्युक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर र ३९० एन्ड्युरो आर मोडलहरू आकर्षक डिजाइन, पावरफुल इन्जिन र अफरोड क्षमताका कारणले चर्चा कमाएका छन्। यी बाइकहरूको मूल्य ५ लाख ९९ हजार ९ सयदेखि ९ लाख ९९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ।

सीएफमोटोले पनि नेपाली बजारमा नयाँ मोडल ल्याउँदै युवा राइडरहरूलाई लक्षित गरेको छ। कम्पनीले ३०० एनके र ४५० एसआरएस सार्वजनिक गरेको छ। दुबै मोटरसाइकलमा प्रिमियम फिचरहरू छन् जसमा स्लिपर क्लच, डबल च्यानल एबीएस, इनभर्टेड सस्पेन्सन, ट्रयाक्सन कन्ट्रोलजस्ता प्रविधि समावेश छन्।

३०० एनकेको मूल्य ६ लाख ५४ हजार ९ सय र ४५० एसआरएसको मूल्य १३ लाख ४९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। साथमा कम्पनीले नगद छुट, कस्टमर कार्ड र वारेन्टी सुविधा सहित ‘जिहो अफरको वर्षा’ योजना ल्याएको छ।
विद्युतीय सवारी साधनप्रति चासो बढ्दै गएको सन्दर्भमा एथर इनर्जीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘रिज्टा’ सार्वजनिक गर्दै बिक्री पनि सुरु गरेको छ। १२५ किलोमिटर रेन्ज दिने क्षमता, ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड, रिभर्स मोड, स्मार्ट डिस्प्ले लगायतका फिचरले सुसज्जित यो स्कुटरको मूल्य ३ लाख ८३ हजार ५ सय रुपैयाँ तोकिएको छ।
अर्कोतर्फ अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्कले ‘बिगस’ ब्रान्डको स्कुटर नेपाली बजारमा भित्र्याएको छ। आरयूभी ३५० र सी १२ नामक दुई मोडलमा बजारमा प्रवेश गरेका यी स्कुटरहरूमा क्रुज कन्ट्रोल, स्मार्ट डिस्प्ले, फराकिलो लेगरुम र उच्च टर्क क्षमताले युवापुस्ताको ध्यान खिचेका छन्। सुरक्षात्मक विशेषतासहित राइडरको सुविधालाई केन्द्रमा राखेर निर्माण गरिएका यी स्कुटरहरू सहरी यात्राको लागि उपयुक्त हुने कम्पनीको विश्वास छ।

टीभीएसले पनि जेनजी पुस्तालाई आकर्षित गर्ने उद्देश्यले विभिन्न मोडल प्रस्तुत गरेको छ। नयाँ मोटरसाइकल ‘रोनिन’ सहित कम्पनीले एनटर्क, जुपिटर, र इलेक्ट्रिक स्कुटर आइक्युब समेत प्रस्तुत गरेको छ। रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन, स्लिपर क्लच, डिजिटल स्पिडोमिटर, एलईडी हेडल्याम्प, डुअल च्यानल एबीएसजस्ता फिचर उपलब्ध छन्, जसले यो बाइकलाई क्रूजर र एड्भेन्चर सेग्मेन्टमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

यी ब्रान्डहरूको सहभागिताले दुई पाङ्ग्रे सवारीसाधनको बजारमा प्रतिस्पर्धा झनै चर्किने देखिएको छ। प्रविधिमैत्री, डिजाइनमा इनोभेटिभ र विशेष सुविधासहित सार्वजनिक गरिएका यी सवारीसाधनहरू विशेषगरी शहरमा बस्ने युवा पुस्ताको प्राथमिक रोजाइ बन्ने संकेत देखिएको छ। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २५ गतेसम्म भृकुटीमण्डपमा जारी रहनेछ।
प्रतिक्रिया दिनुहोस्