काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले विद्युतीय तथा अन्य सवारी साधन मर्मतसम्बन्धी ६ महिनाको अन द जब ट्रेनिङ कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीहरूका लागि आवेदन खुला गरेको छ।
यस तालिममा महानगरपालिकाबाट पहिले नै प्रारम्भिक तालिम प्राप्त गरिसकेका प्रशिक्षार्थीहरूलाई मात्र सहभागी गराइनेछ। तालिम काठमाडौँ महानगरपालिका, चाँगुनारायण फाउण्डेशन तथा सम्बन्धित कम्पनी तथा औद्योगिक प्रतिष्ठानहरूको सहकार्यमा सञ्चालन गरिनेछ।
प्रथम चरणको तालिममा अधिकतम १९ जनासम्म प्रशिक्षार्थी सहभागी गराइनेछ। इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। आवेदनको अन्तिम साउन २८ गते तोकिएको छ भने तालिम २०८२ भदौ १ गतेदेखि सुरू हुनेछ।
अनलाइन आवेदन फारम लिंक सार्वजनिक गरिएको छ, जसमा आवश्यक विवरणहरू भरी आवश्यक कागजातहरू अपलोड गर्नुपर्नेछ। आवेदन गर्दा नागरिकता वा अन्य मान्य परिचयपत्र, प्रारम्भिक तालिमको प्रमाणपत्र, कार्य अनुभवसम्बन्धी कागजात, कक्षा ८ पास गरेको शैक्षिक प्रमाणपत्र र पासपोर्ट साइजको फोटो समावेश गर्नु पर्नेछ।
प्राप्त आवेदकहरूबाट विभिन्न स्क्रिनिङ विधिहरूको आधारमा योग्य अधिकतम १९ जनालाई तालिमका लागि छनोट गरिनेछ। तालिममा सहभागी भइसकेपछि काबुबाहिरको कारणबाहेक अन्य कारणले तालिम छोड्ने आवेदकलाई भविष्यमा महानगरपालिकाद्वारा सञ्चालित कुनै पनि तालिममा सहभागी गराइने छैन।
प्रतिक्रिया दिनुहोस्