एलसी खोल्दा विद्युतीय भुक्तानी मार्फत भुक्तानी पठाउन सकिने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत पत्रिपत्र २०८१ संशोधन गरेको छ ।

आयातकर्ताहरुको अनुरोध प्रतीतपत्र खोल्दा राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त विद्युतीय भुक्तानीका उपकरण मार्फत पठाउन सक्ने भएका छन् । यसअघि इस्युङ बैंकले कोरेसपोन्डेट बैंकमार्फत विदेशस्थित बेनिफिसियरीको नाममा स्विफ्ट मार्फत पठाउँदै आएका थिए । अब भने विद्युतीय भुक्तानीका उपकरण मार्फत पठाउन सक्नेछन् ।

सवारी वा ढुवानीका साधानहरु आयात गर्दा रिकण्डीसन, प्रयोग भइसकेको वा नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने सवारी वा ढुवानीलगायत अन्य साधनहरू पैठारी गर्न नपाइने भएको हो ।

कुनै पनि देशको धितोपत्र बजारमा सूचीकृत कम्पनीको हकमा व्यापारिक साख सूचना अनिवार्य नभएपनि हुने भएको छ । यस अघि यो सम्बन्धी कुनै पनि व्यवस्था गरिएको थिएन ।

सार्वजनिक खरिद कानुन लागु हुने सार्वजनिक निकायले सार्वजनिक खरिद कानुनबमोजिम खरिद गर्ने वस्तु तेस्रो मुलुकमा उत्पत्ति÷निर्माण भई तेस्रो मुलुकबाट सिपमेन्ट हुने अवस्थामा त्यस्तो वस्तुको आपूर्तिकर्ता भारतीय
फर्म÷कम्पनी भएमा विद्यमान व्यवस्थाबमोजिम विदेशी मुद्रा (परिवत्र्य विदेशी मुद्रा वा भारतीय रुपैयाँ) मा भुक्तानीका लागि सटही सुविधा राष्ट्र बैंकले दिने भएको छ ।

सार्वजनिक निकायलाई वस्तु आपूर्ति गर्ने आपूर्तिकर्ता नेपाली संस्था भएमा समेत नेपाली संस्थाले भारतस्थित संस्थासँग त्यस्तो वस्तु खरिद गर्दा सोको उत्पत्ति÷निर्माण तेस्रो मुलुकमा भई तेस्रो मुलुकबाट सिपमेन्ट हुने अवस्थामा सोको भुक्तानी भारतमा परिवत्र्य विदेशी मुद्रा वा भारतीय रुपैयाँमा गर्ने सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नेपाली बीमा कम्पनीहरुले विशेषज्ञ सेवा (जस्तैः एक्चुअरी, सर्भे, भ्यालुयसन आदि) का लागि प्राकृतिक व्यक्तिलाई गर्नु पर्ने भुक्तानीको सटही सुविधाको लागि नेपाल बीमा प्राधिकरणको सिफारिस समेतको आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।