बेरुजू फस्र्यौट र रुग्णठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न मन्त्री दाहालको निर्देशन


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजू फस्र्यौट र रुग्णठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

बुधबार र बिहीबार सम्पन्न सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री दाहालले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

गुणस्तरीय निर्माण कार्य अघि बढाउन विभाग अन्तर्गत रहेका प्रयोगशालाहरूको क्षमता विकास गरी ती पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक रहेको मन्त्री दाहालको भनाइ थियो।

पुल निर्माणमा देखिएको समस्या प्रति मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै उहाँले निर्माण सुरु भई अलपत्र परेका, ठेक्का लागेर पनि सुरु नभएका वा अधुरा रहेका तथा त्रुटिपूर्ण पुलहरूलाई शीघ्र अगाडि बढाउन निर्देशन दिए।

“राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका योजना र रुपान्तरणकारी कार्यक्रमहरूमा स्रोतसाधनको अभाव हुन दिइने छैन,”मन्त्री दाहालले भने, “राजश्व संकलनमा सहयोग पुग्ने संरचना तथा कृषि उपजको बजारीकरणमा टेवा पुग्ने आयोजनाहरूमा पनि विशेष ध्यान दिइनेछ।”

सोही अवसरमा मन्त्रालयका सचिव केशवकुमार शर्माले दशैंअघि देशभरका सडक खाल्डारहित बनाउने कार्य यथाशीघ्र अघि बढाउन निर्देशन दिए। “गत वर्षको पूँजीगत खर्चको उपलब्धिले उत्साह दिएको छ, अब त्यसलाई अझ मजबुत परिणाममा परिणत गर्ने गरी काम गर्नुपर्छ,” उनले भने।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कार्यालय, कार्यालय प्रमुख तथा निर्माण व्यवसायीहरूलाई पुरस्कृत गरिएको थियो।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार दुई दिनसम्म चलेको उक्त कार्यक्रममा विभाग अन्तर्गत देशभरका कार्यालय प्रमुख, दातृ निकायका प्रतिनिधि तथा सरोकारवाला निकायका सहभागीहरूको उपस्थिति रहेको थियो।