नेपाली क्रिकेट टोलीद्वारा खेलकुद विज्ञान अनुसान्धन केन्द्रमा परीक्षण, प्रदर्शन सुधार हुने अपेक्षा


काठमाडाैँ । नेपाली क्रिकेट टोलीका सदस्यहरूले खेलकुद विज्ञान अनुसान्धन केन्द्रबाट पहिलोपल्ट स्पोट्र्स बायोमेकानिक परीक्षण गर्न पाउँदा धेरै उत्साहित रहेको र यसबाट प्रदर्शनमा पनि सुधार आउने अपेक्षा गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत असार २४ गते मात्र नेपालमा पहिलोपल्ट खेलकुद विज्ञान अनुसान्धन केन्द्र स्थापना गरेको छ ।

खेलाडीको स्तर सुधार गर्ने उद्देश्यसहित सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्थापित उक्त अनुसन्धान केन्द्रबाट नेपाली खेलाडी लाभान्वित भइसकेका छन् । नेपाली क्रिकेट टोलीका बलर सोमपाल कामीले आफ्नो शरीरमा भएको समस्या अनुसन्धान केन्द्रको परीक्षणबाट जानकारी थाहा पाएको बताए ।

अब आफूले के—के गर्नुपर्छ भन्ने प्रक्रिया पनि दिएको उनी बताउँछन् । आफ्नो शरीरलाई सन्तुलनमा राख्ने यो अनुसन्धान केन्द्रले मद्दत गर्ने अनुभवी बलर सोमपाल कामी बताउँछन् । ढिलै भएपनि यो प्रविधि नेपालमा भित्रिनु नेपाली खेलाडीका लागि सुखद् पक्ष रहेको उनको भनाइ छ ।

खेलकुद विज्ञान अनुसान्धन केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले हालसम्म ६५ खेलाडी लाभान्वित भएको बताए । पछिल्लो समय विभिन्न खेलका राष्ट्रिय टोलीका खेलाडीहरू लाभान्वित भइरहेका छन् । बिहीवार नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूले पनि उक्त अनुसन्धान केन्द्रमा परीक्षण गराएका थिए ।

नेपाली टोलीका अलराउण्डर नन्दन यादवले मसल्सको कमजोर र मजबुत पक्ष जानकारी लिन पाउँदा खुशी रहेको बताए । यस किसिमको परीक्षणले आफ्नो प्रदर्शनमा पनि सकरात्मक परिवर्तन आउने उनको विश्वास छ ।

साे अवसरमा क्रिकेट टोलीका फिजियोथेरापिस्ट लोकेन्द्र कुँवरले यो परीक्षणपछि खेलाडीहरूले रिहाब गर्न सहज हुने बताए । के के पक्षामा समस्या हो भन्ने पक्षमा जानकार हुँदा सहज हुने उनी बताउँछन् । नेपालमा पहिलोपल्ट यस्तो सुविधा हुनु नेपाली खेलाडीका लागि सुखद् पक्ष रहेको उनको विश्वास छ ।

खेलाडीहरूले गरिरहेको फिटनेस परीक्षण सही हो या होइन भन्ने जानकारी लिन सहज हुने उनी बताउँछन् । यसले गर्दा खेलाडीहरूमा चोट कमी हुने उनको विश्वास छ । इन्जुरी प्रिभेन्सनका लागि यो महत्वपूर्ण रहेको उनी बताँछन् । खेलाडीहरूको शरीरमा के के पक्षको कमी छ र उनीहरूले सुधार गर्नुपर्ने प्रक्रियाहरूलगायत विषय अनुसन्धान केन्द्रको परीक्षणबाट रिपोर्ट आउँदछ ।

नेपाल क्रिकेट संघ (क्यान) सचिव तथा पूर्वकप्तान पारस खड्काले कुनै समयमा इन्डोर प्रशिक्षण गरिरहेको स्थानमा अहिले राखेप सदस्यसचिवको पहलमा हाई पर्पmमेन्स सेन्टर र रिसर्च सेन्टरमा खेलाडीको परीक्षण गर्नु पाउँदा खुशी रहेको बताए । एउटा खेलाडीले आफ्नो स्ट्रेन्थ ट्रेनिङ कसरी गर्ने भन्ने विषय अनुसन्धानमा आउनु सकरात्मक पक्ष रहेको उनी बताउँछन् ।

सबै खेलाडीलाई समेट्न गरी अनुसन्धान केन्द्र स्थापना गर्नु राम्रो पक्ष रहेको र सबै खेल संघले यसको सही सदुपयोग गनुपर्ने पूर्वकप्तान पारस खड्का बताउँछन् । अनुसन्धान केन्द्र पूर्णरूपमा सुविधासम्पन्न उपकरण रहेको उनको भनाइ छ । सबै खेलका खेलाडीलाई आवश्यक परीक्षण हुनु राम्रो रहेको उनी बताउँछन् ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलकुद विज्ञान अनुसन्धन केन्द्रको सदुपयोग गर्न आवश्यक दक्ष जनशक्ति पनि तयार भइरहेको बताएका छन् । अनुसान्धन केन्द्र सञ्चालन गर्नका लागि सामग्री खरिद गर्दा नै उपकरण चलाउन आवश्यक जनशक्ति प्रदान गर्न कम्पनीसँग सहकार्य भएको उनी बताउँछन् ।

सदस्यसचिव घिसिङले अस्ट्रेलिया, क्यानडा, कोरिया र अमेरिकालगायत राष्ट्रका उपकरणहरू अनुसन्धान केन्द्रमा प्रयोग भइरहेको र यसलाई चलाउन अहिलेका लागि राखेपसँग भएको जनशक्ति नै परिचालन गरिएको बताए । यद्यपि, आगामी दिनमा स्पोटर््स बायोमेकानिकल इन्जिनियरका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) पास गरेर नै थप विशेषज्ञ नियुक्त गर्ने उनको भनाइ छ ।

उनले दक्षिण एशियाली खेलकुद, एशियाली खेलकुद र ओलम्पिक खेलेका खेलाडीहरूले आफ्ना खेल संघमार्पmत अनुसन्धान केन्द्रमा समय लिनसक्ने प्रावधान राखिएको बताएका छन् ।

सदस्यसचिव घिसिङले खेलाडीहरूका लागि सहजै परीक्षण गर्नसक्ने गरी व्यवस्थापन गरिएको दाबी गरेका छन् । यी बाहेक खेलाडीले भने केही एक जनाले तीन हजारका दरले आफ्नो परीक्षण गर्न पाउने उनी बताउँछन् । फिजियो र स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचसहित यसमा अनुधसन्धान केन्द्रमा आउँदा उपयोगी हुने राखेप सदस्यचिव घिसिङ बताउँछन् ।

यहाँ पाएको रिपोर्टअनुरूपमा सुधार गर्नुपर्ने र अनुसन्धान केन्द्रकै सफ्टवेयरले पनि सुधारका लागि आवश्यक प्रक्रिया दिने उनको भनाइ छ । मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराते, बक्सिङ, कुस्ती, तेक्वान्दो, जुडो र फुटबललगायतका खेलाडीले परीक्षण गरिसकेका छन् ।

यस केन्द्रमा बायोमेकानिक्स, कार्डियो भस्कुलर इन्डुरेन्स, मसल्स पावर, आईसोमेटिक स्ट्रेन्थ, शरीरको पोस्टर, शरीरको चालको अवस्था, थकानको मापन, लेक्टिक एसिड टेस्ट, दौडने क्षमता, निर्णय गर्ने क्षमतालगायतका विषयमा परीक्षण हुनेछन् । राखेपले अत्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परीक्षण र अनुसान्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपालमै पहिलोपटक यस प्रकारको अनुसन्धान केन्द्र स्थापना गरेको हो ।