काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका गतिविधि र संगठन सुदृढीकरणसहित १३ एजेन्डामा छलफल हुने कार्यक्रम छ।
बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, संसदीय दलको रुपन्देही बैठकको अपडेट, रुपन्देही उपनिर्वाचन र संगठनसम्बन्धी जानकारी प्रस्तुत गरिनेछ। साथै, ‘कुलिङ अफ पिरियड’ मा भएको गडबडीबारे तयार भएको छानबिन प्रतिवेदनमाथि पनि समीक्षा हुनेछ।
प्रदेश इन्चार्जहरूले आफ्ना प्रदेश रणनीति र प्रतिवेदन अधिकतम तीन मिनेटमा पेश गर्नेछन् भने केन्द्रीय सदस्यहरूले दुई मिनेटमा आफ्नो रिपोर्टिङ गर्नेछन्।
बैठकले पार्टी सचिवालयका निर्णयहरूमा छलफल गरी अनुमोदन गर्नेछ। विधान व्याख्या, केन्द्रीय विभाग प्रमुखको मनोनयन, पूर्व केन्द्रीय सदस्यलाई पुनः जिम्मेवारी दिने प्रस्ताव र निर्वाचन आयोगमा मनोनयनसम्बन्धी विषय पनि एजेन्डामा छन्।
यस्तै, रणनीतिक समूह गठन, संगठन सुदृढीकरणका लागि थप जिम्मेवारी तोक्ने, विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेबारे पनि बैठकमा छलफल हुनेछ।
सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानको प्रगति प्रतिवेदन पेस गरी त्यसलाई थप प्रभावकारी बनाउने योजना तय गरिनेछ।
बैठकमा विविध विषय अन्तर्गत अधिवेशन प्रतिनिधि समय विन्दु, मधेश प्रदेश सहमहामन्त्री सिफारिस, पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट तथा सांसदहरूको लेभीसम्बन्धी विषयमा पनि छलफल हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्