सरकारलाई सांसद बडूको प्रश्नः पुस १६ सम्म नयाँ संसद भवन बनिसक्नेमा विश्वस्त हुनुहुन्छ ?


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नयाँ निर्माणाधिन संसद भवन पुस १६ सम्म सकिनेमा मन्त्रालय विश्वस्त हो ? भन्दै प्रश्न गरेका छन्।

शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले सधैँ म्याद थप्ने तर काम समयमा निर्माण नहुने कुरा दुःखको विषय भएको बताए । उनले म्याद थपको प्राथमिकता भन्दा पनि कसेर अघि बढाउने कुरामा जोड हुनुपर्ने बताए । उनले अब थपिएको समयमै संसद भवन निर्माण भइसक्छ भन्नेमा विश्वस्त सरकार छ की छैन भन्ने अहिलेको प्रश्न रहेको बताए। 

“हामीले थप्ने सुविधा खोजिरहेको हो की, कस्ने कुरा हो ? कसेर काम लिनुपर्ने कुरा प्राथमिकतामा हुनुपर्दथ्यो । क्यान्सिल गर्दा पनि समय लाग्छ । समस्या त त्यहाँ पनि छ । त्यो पनि जानकारी छ । थपेर पनि सकिन्छ भने सकियोस् भनेर हो । अब यस पटक थपिएको अवस्थामा अब पक्का काम हुन्छ भन्ने विश्वस्त हो ? तपाईंहरु विश्वस्त हो भने यो पनि राम्रो हो । हामी अनुगमनमा गएका थियौँ,” उनले भने ।

सांसद बडूले नयाँ संसद भवन निर्माणमा पनि पेनाल्टी लगाएर काम गराउनुपर्ने बताए ।