काठमाडौँ । मुलुकमा मोबिलिटी सशक्तीकरणका लागि एकीकृत र प्रभावकारी आवाज उठाउने उद्देश्यसहित ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन’ (नाइमा) गत वैशाख ४ गते औपचारिक रूपमा स्थापना भयाे ।
स्थापना भएको दिनमै नाइमाले नेपालकै सबैभन्दा ठूलो अटो साे ‘मोबिलिटी एक्स्पो’ आयोजना गर्ने घोषणा गर्यो, जसलाई साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भव्य रूपमा सञ्चालन गर्ने तय गरिएको थियो। घोषणा अनुसार, हाल भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ उत्साहपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ र आज यो भव्य प्रदर्शनीको तेस्रो दिन हो।

उद्घाटनको पहिलो दिनदेखि नै प्रदर्शनी स्थलमा अवलोकनकर्ताहरूको बाक्लो भीड देखिएको छ। विभिन्न उमेर समूहका मानिसहरूको उत्साह र सहभागिताले भृकुटीमण्डपलाई उत्सवमय बनाएको छ। नाइमाले गरेको व्यवस्थापन सुरूदेखि नै विशेष प्रशंसाको योग्य देखिएको छ।
उद्घाटन समारोहमा देखिएको सुव्यवस्थित तयारी, दर्शक–आवागमनका लागि स्पष्ट र सहज मार्गनिर्देशन, आकर्षक र सुव्यवस्थित स्टलहरूको सजावट, पर्याप्त प्रदर्शनी स्पेसको उपलब्धता र स्वच्छ वातावरणले यस अटो साेलाई अन्य प्रदर्शनीभन्दा फरक र स्तरीय बनाएको छ। दर्शकहरूको सहज पहुँचका लागि प्रदर्शनी हलको पछाडि र नेपाल पुलिस क्लबमा पर्याप्त पार्किङ स्थानको व्यवस्था गरिएको छ, जसले आगन्तुकहरूलाई अझ सहजता प्रदान गरेको छ।
उद्घाटन समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नाइमाले स्थापना भएको छोटो अवधिमै प्रभावशाली गतिविधि सुरू गरेको भन्दै प्रशंसा गरे। उनले अटोमोबाइल क्षेत्रमा देखिएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै यस प्रदर्शनीलाई स्तरयुक्त र सुव्यवस्थित भएको बताए। साथै, उनले नाइमाको दीर्घकालीन उद्देश्य सफल होस् भन्ने शुभकामना पनि दिए।

स्थापना भएको पहिलो वर्षमै ५० ओटा विभिन्न ब्रान्डहरूको सहभागिता हुनु नाइमाप्रति अटोमोबाइल व्यवसायीहरूको विश्वासको स्पष्ट संकेत हो। यस प्रदर्शनीमा ३५ ओटा नयाँ मोडलका कार र मोटरसाइकल सार्वजनिक गरिएका छन्, जसले नेपाली बजारमा नयाँ प्रविधि, आधुनिक डिजाइन र थप विकल्पको आकर्षण ल्याएको छ। प्रदर्शनीमा कुल ४८ ओटा स्टल रहेका छन्, जसमा २१ ओटा कार ब्रान्ड, १८ ओटामोटरसाइकल तथा स्कुटर ब्रान्ड र ८ ओटा लाइट कमर्सियल सवारी ब्रान्डका मोडलहरू प्रदर्शित छन्।

यस प्रदर्शनीलाई अझ आकर्षक बनाउन एभरेष्ट बैंक र नेसनल इन्स्योरेन्स कम्पनीले पनि सहभागिता जनाएका छन्। एभरेष्ट बैंकले ग्राहकहरूलाई लक्षित गर्दै विशेष अटो लोन योजना ल्याएको छ, जसअनुसार ग्राहकहरूले ५ देखि ७ वर्षसम्मको अवधिमा गाडी कर्जा लिन सक्ने सुविधा पाउनेछन्।

बैंकले बेसरेटमा १.२५ प्रतिशत ब्याजदर कायम गरेको छ भने प्रोसेसिङ शुल्क केवल ०.५० प्रतिशत तोकेको छ। त्यस्तै, फिक्स रेट रोज्ने ग्राहकका लागि ५ वर्षका लागि ७.४९ प्रतिशत ब्याजमा पनि कर्जा उपलब्ध हुनेछ।
निजी प्रयोजनका लागि गाडी खरिद गर्दा कम्तिमा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने र बाँकी ६० प्रतिशत रकम बैंकले कर्जा उपलब्ध गराउने व्यवस्था छ। कर्जा सम्झौतामा तेस्रो पक्ष बिमा अनिवार्य गरिएको छ र ऋणीको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने शर्त पनि राखिएको छ।

यसैबिच, दुईपाङ्ग्रे सवारीको हकमा पनि प्रदर्शनीले ठूलो चर्चा पाएको छ। विभिन्न कम्पनीहरूले प्रिमियम डिजाइन, अत्याधुनिक प्रविधि र आकर्षक अफरसहितका नयाँ मोडलका मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेका छन्। विशेषगरी जेनजी पुस्तामा यसको आकर्षण उल्लेखनीय देखिएको छ। यी नयाँ मोडलहरूको आगमनले दुईपाङ्ग्रे बजारमा प्रतिस्पर्धा अझै बढाउने र शहरका युवा पुस्ताले प्राथमिक रोजाइका रूपमा लिने सम्भावना बलियो बनाएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्ना अत्याधुनिक मोडलहरू भव्य छुट र विशेष अफरसहित प्रस्तुत गरेका छन्। एउटै छानामुनि विभिन्न किसिमका सवारी साधनहरू अवलोकन गर्न र मनपर्ने मोडल आकर्षक मूल्यमा खरिद गर्न सकिने सुविधा भएपछि दर्शक र सम्भावित ग्राहकहरू दुवै उत्साहित भएका छन्।

यसरी, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ केवल सवारीसाधनको प्रदर्शनी मात्र नभई अटोमोबाइल उद्योगमा नवप्रवर्तन, प्रवर्द्धन र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको छ जसले नेपाली अटोमोबाइल बजारलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
फाेटाेः पुष्पा पाल
प्रतिक्रिया दिनुहोस्