ब्रामा लुकाएर कोकिन तस्करी गर्ने ब्राजिलियन महिला विमानस्थलमा पक्राउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागु औषध नियन्त्रण ब्यूरोको विशेष टोलीले ब्राजिलबाट नेपाल प्रवेश गरेकी २१ वर्षीया ब्राजिलियन महिला इमिली मिकाएल सन्तोष फेरेइरा लाई १ केजी ९५० ग्राम कोकिन लागु औषध ब्रामा लुकाएर तस्करी गर्ने प्रयास गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ।

लागु औषध नियन्त्रण ब्यूरोका अनुसार, महिला दोहा हुँदै नेपाल आई नेपालबाट भुटान जान लागेकी थिइन्। विमानस्थलको प्रस्थान कक्ष अगाडि उनलाई शंकास्पद गतिविधि अनुसार जाँच गर्दा उनको कालो रंगको ब्रामा लुकाइएको तरल अवस्थामा रहेको कोकिन बरामद भएको हो।

पक्राउ परेका महिलामाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कानूनी प्रक्रिया अघि बढाइएको छ। काठमाडाैँ जिल्ला अदालतले उक्त मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेको जनाएको छ।

लागु औषध नियन्त्रण ब्यूरोले यस प्रकारका लागु औषध तस्करी विरुद्ध कडा निगरानी तथा कारबाही जारी राख्ने जनाएको छ।