स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रीकोटबाट चोरी भएको स्कूटरसहित तीन थान मोबाइल फोन प्रहरीले फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारीअनुसार चोरीमा संलग्न रहेका एक युवकलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार साउन २० गते राति करिब १ः३० बजे ग–११–प–६०२५ नम्बरको होन्डा डियो स्कूटर चोरी भएको सूचनापछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो। सो क्रममा साउन २३ गते जिल्ला पर्वत बिहादी गाउँपालिका–३ रातामाटा बस्ने २६ वर्षीय राज कुमार परियारलाई वालिङ नगरपालिका–१० गाहाखोलाबाट नियन्त्रणमा लिइएको हो।
अनुसन्धानको क्रममा चोरी भएको स्कूटर वालिङ नगरपालिका–१४ फुलबारीमा लुकाइराखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, परियारको साथबाट रेडमी कम्पनीका दुई थान र रियलमी कम्पनीको एक थान गरी तीनवटा मोबाइल समेत विभिन्न स्थानबाट चोरी गरेको अवस्थामा फेला पारिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार पक्राउ परेका परियारमाथि आवश्यक कानूनी कारबाही अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्