काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने बिच बुधबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा नेपाल–स्पेनबिचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यमको प्रवर्द्धन तथा दीर्घकालीन साझेदारीका विषयमा विस्तृत छलफल गरिएको थियो।
सो अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्रमार्फत नेपाल–स्पेन सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्पेनसँगको सहकार्यबाट नेपाली बजारमा प्रविधि, पुँजी र अनुभव भित्र्याउन सकिने बताए। उनले यसका लागि नेपाली निजी क्षेत्र पूर्ण रूपमा तयार रहेको धारणा राखे ।
स्पेन चेम्बर अफ कमर्ससँगको प्रस्तावित समझदारीपत्रको प्रारम्भिक मस्यौदा प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले यसले साझा दृष्टिकोण र दीर्घकालीन सम्बन्धका लागि आधारशिला तयार पार्ने विश्वास व्यक्त गरे। उनले समझदारीपत्रको विस्तृत अध्ययनपछि दुवै पक्षले छिट्टै हस्ताक्षर गर्ने प्रतिबद्धता जनाए।
“यो समझदारीपत्रमा व्यापार प्रवर्द्धन, लगानी, बजारसम्बन्धी जानकारी आदानप्रदान, प्रतिनिधिमण्डलको सहयोग, तथा साना र मझौला उद्योगबिच सहकार्यजस्ता व्यावहारिक पक्ष समेटिएका छन्, जुन निकै सकारात्मक छन्,” अध्यक्ष ढकालले भने। साथै, संयुक्त लगानी, प्राविधिक सहकार्य र ज्ञान साझेदारीका लागि यो समझदारी एक सशक्त प्लेटफर्म बन्ने विश्वास पनि उनले व्यक्त गरे ।
ढकालका अनुसार यस समझदारीपत्रले स्पेनिश व्यवसायीहरूलाई नेपालबारे बुझ्न सहज बनाउने र नेपाली व्यवसायीहरूका लागि स्पेनलाई युरोप प्रवेशको ढोका बनाउने आधार तयार पार्नेछ। उनले साना तथा मझौला उद्यमलाई दुवै मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै नेपालमा हालै भएका नीतिगत सुधारहरूले विदेशी लगानीका लागि प्रशस्त अवसर सिर्जना गरेको जानकारी दिए। पर्यटन, पूर्वाधार, जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधि क्षेत्रमा स्पेनिश लगानीको उच्च सम्भावना रहेको उनकाे भनाइ थियो।
स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेनेले नेपालमा लगानीको सम्भावना अत्यन्त आकर्षक रहेको बताउँदै व्यापारिक सहकार्यलाई सशक्त बनाउन इच्छुक रहेको धारणा राखिन्। उनका अनुसार पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधार क्षेत्रमा दुवै देशबीच सहकार्यको व्यापक सम्भावना छ। रेनेले महासंघसँग हुने समझदारीले दुवै देशको निजी क्षेत्रीय समन्वय र विश्वासलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिन्।
भेटका क्रममा दुवै पक्षले आपसी आर्थिक सम्बन्धलाई थप गहिरो बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट व्यवसायिक समुदायहरू लाभान्वित हुनेमा विश्वास व्यक्त गरे।
भेटमा महासंघका पूर्व अध्यक्ष चन्डिराज ढकाल र महासंघका कोषाध्यक्ष भरतराज आचार्यको पनि सहभागिता थियो। गत जुन महिनामा स्पेनमा आयोजित कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुँदा अध्यक्ष ढकालले रेनेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
प्रतिक्रिया दिनुहोस्