काठमाडाैँ ।नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद कृष्णबहादुर रोकायाले भारतमा गएको बाढी र पहिरोमा परी २० जना नेपाली बेपत्ता भएको भन्दै तत्काल उद्धार तथा खोजी कार्यका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रोकायाले रोजगारीका लागि भारत पुगेका नेपालीहरू उत्तराखण्ड राज्यमा गएको बाढी र पहिरोको घटनामा बेपत्ता भएको जानकारी दिएका हुन्। उनले गत मंगलवार र बुधवार आएको प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति भएको बताउँदै दुःख व्यक्त गरे।
रोकायाका अनुसार जाजरकोटको कुशे गाउँपालिकाका १३ भन्दा बढी, जुम्ला तिला गाउँपालिकाका एक जना र रुकुमपश्चिमका एक जना नेपाली बेपत्ता छन्। साथै, उत्तराखण्डको पौरी गढवामा गएको पहिरोमा बर्दियाका पाँच जना नेपाली बेपत्ता भएको अनुमान गरिएको छ।
उनले बेरोजगारीका कारण लाखौँ नेपाली युवाहरू खाडी मुलुक र भारतमा जोखिमपूर्ण रोजगारीमा जान बाध्य भइरहेको उल्लेख गरे। “केही युवाहरू शुरुमै ठगिन्छन्, केहीले ज्यान नै गुमाउनुपर्ने अवस्था आउँछ,” रोकायाले भने। उनका अनुसार वर्षमा दुई पटक हिउँद र वर्षायाममा रोजगारीका लागि भारत जाने नेपालीहरूको संख्या उच्च हुन्छ।
धराली बजारमा आएको बाढी र पौरी गढवामा गएको पहिरोमा परी थुप्रै नेपाली परेका आशंका छ। सांसद रोकायाले घटनामा परेका मजदुरहरूको अविलम्ब उद्धारका लागि सम्बन्धित निकायलाई सक्रिय हुन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्