सोर्सकोड चोरेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले कम्प्युटर सफ्टवेयर कम्पनीको सोर्सकोड चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषणपछि पक्राउ पर्नेहरूमा सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजु बस्ने २६ वर्षका सुजन कुमार महतो र धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर ४ धोबीघाट बस्ने २४ वर्षका सुमन श्रेष्ठ छन्।

यी व्यक्तिहरूले सफ्टवेयर कम्पनीको सोर्सकोड अनधिकृत पहुँच गरी चोरी गरेको र यसले बौद्धिक सम्पत्तिमा आघात पुगेको बताइएको छ। उनीहरूलाई विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार साउन २२ गते पक्राउ गरिएको छ।

काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूको अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले पाँच/पाँच दिन म्याद थप गरेको छ र आवश्यक अनुसन्धान जारी छ।