देशभर मनसुनको प्रभाव: केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडाैँ । जल तथा मौसम पूर्वानुमान विभागले आज (शनिबार) र रातभर देशभर साधारणतया बदली रहने जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि विभागले जनाएको छ।

रातिको समय मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ। मधेश प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

मौसम विज्ञान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थानको केही उत्तरतिर र पश्चिमतर्फ नेपालको तराईको नजिक अवस्थित छ। यसले वर्षाको गतिविधि सक्रिय बनाइरहेको महाशाखाले जनाएको छ।