‘नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु लिन सकिन्छ’


काठमाडाैँ । निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउनसके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउनसकेको र १० हजार मडिकल विद्यार्थीलाई ल्याउनसके ५० अर्ब रेभिन्यु भित्र्याउन सकिने बताए।

उनले अहिलेको नेपालको मेडिकल पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई धान्नसक्ने बताए । अझ दुई चरणमा अध्ययन गराउनसके फाइदा हुने उनको भनाइ छ । मेडिकल पर्यटनले नेपालको आर्थिक स्तर माथि उठाउन मद्दत पुग्ने उनको भनाइ छ । मेडिकल विद्यार्थीका लागि कोटा सिस्टम खोलिदिनुपर्ने उनको भनाइ छ । साथै अनलाइन एप्लिकेसनको व्यवस्था हुनुपर्ने बताए ।

नेकपा एमाले सांसद ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारले कति लगानी गरेको छ ? र कसरी अझ प्रभावकारी बनाउने भन्नेबारेमा सोच्न जरुरी रहेको बताइन् । उनले लगानी प्रभावकारी रुपबाट कार्यान्वयन गर्न जरुरी रहेको बताइन्। 

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले नेपाललाई चाहिने मेडिकल जनशक्तिको अध्ययन गरी आवश्यक भन्दा बढी उत्पादन भए मात्रै बाहिर पठाउनुपर्ने बताए । नेपालले बाहिर जनशक्ति पठाउने भन्दा पनि बाहिरबाट विद्यार्थी ल्याएर चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताए । कसरी बाहिरबाट बढी विद्यार्थी ल्याउने भन्नेकुरा प्राथमिकतामा पर्नुपर्ने बताए । यसमा राष्ट्रले एउटा नीति बनाएरै अघि बढ्नुपर्ने जरुरी रहेको बताए ।

अध्यक्ष भुसालले नो अब्जेक्शन लेटर दिएर बाहिर पठाउने काम बन्द गर्नुपर्ने भन्दै यहीँ उपयोग गर्ने वातावरण बनाउन जरुरी रहेको बताए ।