दैलेखमा तीजको नाच हेर्न गएकी १२ वर्षीय बालिका बलात्कृत


काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ मा तीजको नाच हेर्न गएकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

साउन २२ गते साँझ तीजको नाच हेर्न गएकी बालिकालाई बलत्कार गरेको आरोपमा दु्ई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–८का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन् ।

नाच हेर्न सँगै गएका साथीहरू भाग्न सफल भएपनि ती बालिकालाई ढुंगाले हानेर घाइते बनाइ सामूहिक बलात्कार गरी बेहोस अवस्थामा छाडिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

पीडितको दाहिने हात मर्किएको र गुप्ताङ्गमा चोट लागेको चिकित्सकले जनाएका छन् । दैलेख अस्पतालमा उपचाररत् ती बालिकाको अवस्था सामान्य बन्दै गएको प्रहरीको भनाइ छ ।

पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा ती युवाहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

पीडित परिवारको जाहेरीका आधारमा दुवै युवकलाई नियन्त्रणमा लिइएको र जबरजस्ती करणी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।