नागरिक लगानी कोषको खुद नाफा १३ प्रतिशतले बढ्यो


काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)लेको मुनाफा १३.७१ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कोषले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९२ करोड रुपैयाँ कुल आम्दानी गरेको कम्पनीको गत आर्थिक वर्ष सोही अवधिमा उक्त आम्दानी ८.९६ प्रतिशतले बढेर २ अर्ब ९ करोड रुपैया पुगेको छ ।

कोषले आर्जन गरेको कुल आम्दानीमा ३३ करोड ७४ लाख ब्याज आम्दानी, १ अर्ब ६५ करोड सेवा शुल्क तथा कमिसन आम्दानी र १० करोड ६४ लाख रुपैयाँबराबरको विविध आम्दानी रहेको छ । कोषको कुल खर्च ६।७६ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४५ करोड ५० लाख रुपैयाँ रहेको कुल खर्च घटेर ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले २ खर्ब ८९ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ५८ अर्ब ,नेपाल सरकारको ऋणपत्रमा ७८ करोड ८७ लाख ,समयकालिन कर्जामा २६ अर्ब ३८ करोड ,संगठित संस्थाको सेयरमा ३१ अर्ब ८२ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ ।

कम्पनीको बैंक मौज्दात ६ अर्ब १५ करोड रहेको छ भने चालु सम्पत्ति २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।कम्पनीको जगेडा कोषको आकार २० अर्ब ११ करोड रुपैयाँबराबर रहेको विवरणमा उल्लेख छ ।

समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ र लगानी प्रतिफल ५.६८ प्रतिशत कायम भएको छ ।