काठमाडौँ महानगरद्धारा मापदण्ड विपरीतका २७१ पानी जार बरामद र नष्ट


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वर्षायाममा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न प्रशोधित पिउने पानीका जारहरूको अनुगमनलाई थप कडाइका साथ अगाडि बढाएको छ।

पछिल्ला एक सातामा विभिन्न स्थानमा गरिएको अनुगमनमा मापदण्ड विपरीतका २७१ जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ। आषाढ र श्रावण महिनामा मात्र १३९ सवारी साधनबाट ४५६ जार बरामद गरिएका थिए।

पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । उनका अनुसार बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानमा कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा चेकपोस्टमार्फत अनुगमन भइरहेको छ।

न्यौपानेका अनुसार मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले ती तत्काल जफत गरी नष्ट गर्ने र सम्बन्धित कम्पनीलाई कडा निर्देशन दिइएको हो।

साउन १८ गते कोटेश्वर क्षेत्रमा १५ गाडीको अनुगमनमा ७७ जार, साउन २० गते बल्खुमा ८ गाडीको जाँचमा ५९ जार, साउन २१ गते चाबहिल–चुच्चेपाटीमा १९ गाडीबाट ६७ जार, र साउन २३ गते माछापोखरी–बालाजुमा २० गाडीको अनुगमनमा ६८ जार मापदण्ड विपरीत भेटिएका थिए। यी सबै जार नष्ट गर्न महानगर प्रहरीले जिम्मा लिएको छ।

यस्तै, फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले प्रयोगशालामा पठाइएका नमुनाहरूको परीक्षणबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गरिने बताउँदै, नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता भएको स्पष्ट पारे। उनका अनुसार पानी उत्पादन, ढुवानी र वितरण प्रणालीको नियमित अनुगमनसँगै समुदायस्तरमा पानीको नमुना परीक्षण र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी छ।

बल्खु, कालीमाटी र टङ्केश्वर जस्ता क्षेत्रमा विगतमा हैजा रोगका बिरामी भेटिएको अनुभव भएकाले महानगरपालिका जोखिम न्यूनीकरणमा थप सतर्क बनेको छ। साथै, वर्षायाममा जारको पानी उमालेर मात्र पिउन महानगरले सबैलाई आग्रह गरेको छ।