रसुवाको बाढीपहिरोबाट ९८ करोड ५९ लाख बिमा दाबी, कुन क्षेत्रमा कति ?


काठमाडौँ । असार २३ गते रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा आएको बाढीका कारण भएको क्षतिको बिमा दाबी ९८ करोड रुपैयाँ बराबर पुगेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार साउन २३ गतेसम्म ११ ओटा निर्जीवन बिमकहरूबाट प्राप्त क्षतिपूर्ती दाबी विवरण अनुसार कुल ९८ करोड ५९ लाख ८२ हजार रूपैयाँ बराबरको बिमा दाबी परेको छ ।

जसमा सर्वाधिक दाबी हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीमा परेको छ। कम्पनीमा २ ओटा दाबी दर्ता भइ कुल ५५ करोड रुपैयाँको दाबी भएको छ। यसैगरि शिखर इन्स्योरेन्समा १६ करोड ९६ लाख रुपैयाँ बराबरको १५ ओटा दाबी परेको छ भने नेपाल इन्स्योरेन्समा १६ ओटा दाबी दर्ता भइ ८ करोड ७३ लाख रुपैयाँको दाबी दर्ता भएको छ।

त्यस्तै सानिमा जिआईसमा ६ ओटा दाबी मार्फत ६ करोड ८४ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ५ ओटा दाबीमार्फत ५ करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीमा इन्स्योरेन्समा २ ओटा दाबीबाट २ करोड ६५ लाख रुपैयाँ, युनाएटेड अजोड इन्स्योरेन्समा ३ ओटा दाबीबाट ९१ लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियलमा १० ओटा दाबीबाट ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ ओटा दाबीबाट ४७ लाख रुपैँया, सिद्धार्थ प्रिमियमा ७ ओटाको ३१ लाख रुपैँया र प्रभु इन्स्यारेन्समा ६ ओटा दाबीबाट २८ लाख रुपैँया बराबरको दाबी दर्ता भएको छ।

बिमालेखको प्रकारअनुसार हेर्दा सबैभन्दा धेरै दाबी सम्पत्ति बिमा अन्तर्गत परेको छ। ६ ओटा सम्पत्ति बिमालेख अन्तर्गत ६१ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

त्यस्तै सामुद्रिक बिमातर्फ २२ करोड २ लाख २९ हजार रुपैँया, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम अन्तर्गत ५ ओटा दाबीमा ५ करोड ९५ लाख रुपैयाँ, मोटर बिमा (निजी) तर्फ ५ करोड ५८ लाख रुपैयाँ र मोटर बिमा (सार्वजिनक) अन्तर्गत दाबीमा ३ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दाबी विवरण प्रारम्भिक रहेको र समयक्रममा थप विवरण आउन सक्ने जनाएको छ।