काठमाडौँ । आउँदाे भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७औं संस्करणको ‘नाडा अटो साे २०२५’ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने भएको छ।
नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरी अटो साे उद्घाटनका लागि औपचारिक आग्रह गरेको थियो। उक्त भेटमा अध्यक्ष चौधरीले यस वर्ष नाडा स्थापनाको ५०औं वार्षिकोत्सवको अवसर पारेर अटो शो आयोजना गर्न लागिएको जानकारी दिएका थिए।
उनका अनुसार, यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड तथा स्मार्ट मोबिलिटी समाधान, विन्टेज मोटर शोका साथै पहिलोपटक नेपालमा देखिन लागेका यूनिट्रि रोबोट्स र दिपल इभाेल्ट यूएभी जस्ता भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको आकर्षण हुनेछन्।
प्रधानमन्त्री ओलीले नाडाको आमन्त्रण सहर्ष स्वीकार गर्दै कार्यक्रममा सहभागी हुने प्रतिबद्धता जनाएपछि अटोमोबाइल व्यवसायीहरू उत्साहित बनेका छन्। भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय सदस्य मेघराज पौडेलको समेत उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस्