काठमाडाैँ । कृषि उत्पादनको मुख्य मौसममा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यसहित सरकारले विशेष तयारी गरेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै खेतबारीलाई हराभरा बनाउन किसानलाई आवश्यक मल आपूर्ति सुनिश्चित गरिएको उल्लेख गरेका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आयातको प्रक्रियामा रहेको छ।
अहिले कृषि सामग्री कम्पनी लिमिटेडमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ। यसमध्ये १६ हजार ५३९ मेट्रिक टन युरिया, ७ हजार ६५३ मेट्रिक टन डिएपी र ४ हजार ९१५ मेट्रिक टन पोटास रहेको छ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा भने १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ, जसमा १० हजार ९८४ मेट्रिक टन युरिया, ९४२ मेट्रिक टन डिएपी र १ हजार ७८५ मेट्रिक टन पोटास समावेश छन्।
सरकारले कतै मलको अभाव महसुस भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन किसानलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्