वैकल्पिक विकास वित्त परिचालन आइटी क्षेत्रमा गर्नुपर्छः विराजभक्त श्रेष्ठ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि सरकारले बनाउन लागेको कानूनमा आइटी क्षेत्रलाई समेट्नुपर्ने बताएका छन् ।

अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा विधेयकले आइटी क्षेत्रलाई समेट्न नसकेको भन्दै आपति जनाएका हुन्। अहिले भइरहेका संरचनाहरुले गरिरहेकै क्षेत्रमा वैकल्पिक वित्त परिचालन गर्न जरुरी नरहेको समेत उनकाे भनाई छ । विधेयक पुरातन सोचबाट आएको श्रेष्ठको आरोप छ ।

“वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि सरकारले बनाउन लागेको यो कानूनले आइटीलाई छोएको देखिएन । पुरातन शैलीको सोचबाट विधेयक ल्याएको देखियो” सांसद् श्रेष्ठले भने, “वैकल्पिक वित्त परिचालनको क्षेत्रमा जुनकुराहरु राखिएको छ, ती अहिलेकै संरचनाबाटै गर्न सकिन्छ भने छुट्टै संरचना किन आवश्यक प¥यो । सरकारले स्पष्ट पार्नुपर्छ ।”

उनले ट्रेजरीबाहेकका क्षेत्रबाट स्रोत जुटाएर गरिने लगानीको जोखिमबारेमा समेत विधेयकले सोच्नुपर्नेमा जोड दिए ।