काठमाडौँ । हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन २५ गतेसम्म १३ लाख ७८ हजार ९६६ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८८६ हेक्टरमा धान रोपिएको हो।
गत वर्षको साउन २७ गतेसम्म ९८.१९ प्रतिशत रोपाइँ भएको थियो। मन्त्रालयका अनुसार अहिले देशभर मनसुन सक्रिय भएकाले बाँकी रोपाइँ चाँडै सम्पन्न हुने अपेक्षा गरिएको छ।
प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेश ९९.७२ प्रतिशत रोपाइँ पुरा गरी सबैभन्दा अगाडि रहेको छ। उक्त प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भइसकेको छ। कर्णाली प्रदेशमा पनि ९८.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ४० हजार ३८३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।
यसैगरी, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत, गण्डकीमा ९२.७७ प्रतिशत, बाग्मतीमा ९३.५६ प्रतिशत, कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। तर, मधेश प्रदेशमा भने रोपाइँको गति ढिलो देखिएको छ। ३ लाख ७२ हजार ६४५ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये हालसम्म ७६.५४प्रतिशत अर्थात् २ लाख ८५ हजार २३४ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।
धान उत्पादनमा मुख्य योगदान दिने क्षेत्रहरूमध्ये एक रहेको मधेश प्रदेशमा पानी अभाव र पूर्वाधार समस्या जस्ता कारणले गर्दा रोपाइँ सुस्त गतिमा भइरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्