सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइएः सूर्य थापा


काठमाडाैँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताएका छन् ।

अर्थ समितिमा सोमबार वैकल्पिक विकास वित्तसम्बन्धिको विधेयकमाथिको छलफलमा उनले देखाउनका लागि बनाइएका कोषहरुको अर्थ नरहेको बताएका हुन् ।

उनले वैकल्पिक वित्त कोष पनि त्यसैको नमूना हुनसक्ने जोखिम रहेको बताए । सांसद थापाले वैकल्पिक पुँजी संरचना बनाएर मात्रै कोषलाई परिचालन गर्नुपर्ने उल्लेख गरे ।

सांसद् थापाले भने, “सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएका छन् । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि कोषको पुँजी संरचना के आधारमा बनाइयो, यसको लजिक चाहियो । वैकल्पिक वित्त कोष भनेर नाम दिने तर अहिलेको पुँजी संरचनाले वैकल्पिक भन्ने देखाउन्न ।”

सांसद थापाले स्रोतको खोजी गर्दा बढिमा कतिसम्मको खोजी गरिरहेका छौं भन्नेमा पनि कानून बनाउँदा स्पष्ट हुन जरुरी रहेको बताए ।