‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सम्पन्न, १ लाखले गरे अवलाेकन


काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेकाे ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सोमबार सम्पन्न भएको छ। दिगो र प्रविधिमैत्री यातायात प्रणालीप्रतिको सोचका साथ आयोजित यो प्रदर्शनी ६ दिनसम्म चलेको थियो र यस अवधिमा करिब १ लाख अवलोकनकर्ता पुगेका आयोजकले जनाएका छन्।

नाइमा अध्यक्ष रितु सिंह वैद्यका अनुसार एक्स्पो नेपालमै अहिलेसम्मको सबैभन्दा ठूलो र समावेशी अटो प्रदर्शनी बनेको छ। उनले सोचेभन्दा पनि उत्कृष्ट र सफल अटो शो भएको बताउँदै यसले नेपालमा दिगो र प्रविधिमैत्री यातायातको सम्भावना थप स्पष्ट पारेको उल्लेख गरिन्। प्रदर्शनीमा १५ ओटा दुईपांग्रे, १५ ओटा चारपांग्रे र ५ ओटा व्यावसायिक सवारीसाधनसहित कुल ३५ नयाँ मोडेल सार्वजनिक गरिएका थिए।

एक्स्पाेमा खल्ती (टिकटिङ पार्टनर), माउण्टेन ड्यू (बेभरज पार्टनर), हिमालयन जाभा (ब्रुइङ पार्टनर), पठाओ (राइड पार्टनर), एचआईके भिजन (सर्भेलेन्स पार्टनर), वर्ल्ड लिङ्क (कनेक्टिभिटी पार्टनर), सोल्टी होटल (हस्पिटालिटी पार्टनर), फ्रन्टलाइन हस्पिटल (मेडिकल पार्टनर), एनसेल (टेलिकम पार्टनर) र मिडिया स्पेस सोल्युशन (म्यानेजमेन्ट पार्टनर) लगायतका संस्थाको सहकार्य रहेको थियो।

राइड पार्टनर पठाओले मेलाको अवधिमा भृकुटीमण्डप गन्तव्यमा आउने यात्रुहरूलाई ३० प्रतिशतसम्म छुट दिएको थियो भने फ्रन्टलाइन हस्पिटलले चौबीसै घण्टा एम्बुलेन्ससहितको आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराएको थियो।