काठमाडाैँ । बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् ।
अहिलेसम्म एभरेष्ट, नबिल, माछापुच्छ्रे बैंक, कृषि विकासलगायतका बैंकहरुले आफ्नो वित्तीय विवरण जारी गरिसकेका छन् ।
बैंकहरूको वित्तिय अवस्था हेर्दा धेरै जसो बैंकहरूको अवस्था राम्रो देखिएको छ ।
उनीहरूले नाफामा वृद्धि गरेका छन् भने खरब कर्जाको अनुपात घटाएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशतले बढी हो । अघिल्लो आ.व.को सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकले ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा १९.३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको निक्षेप संकलन ३८.६२ प्रतिशतले बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १९.८६ प्रतिशतले बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आवको तुलनामा ३१.६३ प्रतिशतले बढी हो । अघिल्लो आ.व.को सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ६६ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको एनपीएल ०.७१ प्रतिशत रहेको थियो । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।
यता, एनएमबी बैंकले पनि चौथो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार उक्त बैंकले अघिल्लो वर्षको तुलनामा नाफामा वृद्धि गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो । नाफामा उल्लेख्य वृद्धि देखिएको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ । प्रतिशेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ हो । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ ।
निष्क्रिय कर्जा सामान्य बढेको छ । गत असार मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जा अंश ३.७२ प्रतिशत छ । अघिल्लो वर्ष ३.४० प्रतिशत थियो । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ ९५ पैसा छ ।
अर्को बैंक, नबिल बैंकको नाफामा पनि १५ प्रतिशतले वृद्धि देखिएको छ । चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब १९ करोड थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ । वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जामा सामान्य सुधार आएको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.२७ प्रतिशत छ, पहिले ४.४५ प्रतिशत थियो । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको बैंकको सेयर मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ ३० पैसा छ ।
यस्तै हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको नाफा १ अर्ब २३ करोड थियो । अघिल्लो वर्षको तुलनामा यो नाफा २२.१५ प्रतिशत बढी हो । बैंकको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्ष ४.९८ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ७.२८ प्रतिशत पुगेको छ ।
यस्तै अर्को माछापुच्छ्रे बैंकले पनि नाफामा भारी वृद्धि गरेको छ । गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले दुई अर्ब एक करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर पाँच अर्ब ७५ करोड पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा पुगेको छ ।
त्यस्तै, कुमारी बैंकले आर्थिक वर्ष २०८१÷८२ मा दुई अर्ब एघार करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा चार सय गुणाले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी करिब सात प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
प्रतिशेयर आम्दानी आठ रुपैयाँ ६ पैसा रहेको भने सिद्धार्थ बैंकको वितरणयोग्य नाफा तीन गुणाले बढेर एक अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकले १३.२२ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ । बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर आठ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ १ पैसा छ ।
त्यस्तै, सरकारी स्वामित्वको कृषि विकास बैंकले चार अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी सात प्रतिशतले घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०६ पैसा पुगेको छ ।
यस्तै, सानिमा बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ७.२५ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ । बैंकले २०.४७ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ । अघिल्लो वर्ष १०.६६ प्रतिशत थियो ।
समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२१ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.५१ प्रतिशत थियो । अर्को, सिटिजन्स बैंकको नाफा गत वर्षको तुलनामा दुई प्रतिशतले घटेर एक अर्ब २९ करोड रुपैयाँ रहेको छ ।
तर बैंकको खुद ब्याज आम्दानी करिव १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा छ । अरू बैंकहरूले समेत आफ्नो वित्तिय विवरण सार्वजनिक गर्ने क्रम जारी छ ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्