कृषि मल व्यवस्थापनमा नयाँ योजना ल्याउन प्रधानमन्त्री ओलीको तीन दिने अल्टिमेटम


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धि सम्बन्धी गहन छलफलपछि तीन बुँदे निर्देशन जारी गरेका छन्।

सिंहदरबारमा आज कृषि तथा उद्योग मन्त्रालयका मन्त्री र सम्बन्धित अधिकारीहरू सहभागी भई बहस गरेपछि प्रधानमन्त्रीले तीन दिनभित्र कार्यान्वयनका लागि स्पष्ट योजना ल्याउन आदेश दिएका हुन्।

प्रधानमन्त्रीको निर्देशनअनुसार रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त बनाउन नयाँ ढाँचामा ठोस योजना तयार गर्नुपर्ने उल्लेख छ।

त्यस्तै कम्पोष्ट तथा जैविक मलको उत्पादन र प्रयोगलाई प्रवर्द्धन गर्न राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने र यसका लागि अनुदान नीतिको प्रस्ताव ल्याउन समेत आग्रह गरिएको छ।

निर्देशनअनुसार, माटोको उर्वरता संरक्षण गर्न रासायनिक मल उत्पादन गर्ने कारखाना नेपालमै स्थापना गर्न सकिने सम्भाव्यता अध्ययन गरी अध्ययनको खाका तयार गर्न भनिएको छ।

प्रधानमन्त्री ओलीले कृषि मल व्यवस्थापनलाई प्राथमिकता दिँदै खाद्यान्न उत्पादनमा वृद्धि गर्न यस योजना छिटो कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन्। तीन दिनभित्र सबै तयारी पुरा गरी प्रतिवेदन बुझाउन मन्त्रालयलाई निर्देशन समेत दिएको छ।