काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मंगलबार साँझ आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।
“कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको एकीन गरेर विद्युत प्रसारण लाईन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ,” उनले भने । उनले जलविद्युत उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गरे।
उर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डको रुपमा उर्जा क्षेत्रलाई लिएको बताए । १० वर्षका लागि उर्जा विकासको खाका सरकारले अगाडि बढाएको भन्दै उक्त खाकालाई पुरा गर्न ग्रीड कम्पनीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
उनले सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र उर्जाक्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार उर्जा विकासमा लागिरहेको स्पष्ट पारे। सरकार उर्जा क्षेत्रलाई तीव्र गतिमा अगाडि बढाउन खोजेको उनको भनाई थियो ।
“ठूलो लगानी हुने उर्जा क्षेत्रलाई कसरी सहजीकरण र वित्तिय व्यवस्थापन गर्न सकिन्छ भनेर सरकार प्रष्ट खाकाका साथ अगाडि बढेको छ, हामीले उर्जा क्षेत्रको विकासको प्रमुख सहयात्रीका रुपमा निजी क्षेत्रलाई लिएका छौँ,” उनले भने। उनले उर्जा क्षेत्रको विकासका लागि देखिएका कानूनी जटिलता र अफ्ठयारालाई सरकारले समाधान गर्दै जाने उल्लेख गरे।
उनले उर्जा क्षेत्रको विकासका लागि अन्तरनिकाय समन्वय आवश्यक रहेको बताए । मन्त्री खड्काले हाम्रा दुई छिमेकी मुलुकबाट उर्जा क्षेत्रमार्फत फाइदा लिनुपर्ने उल्लेख गरे । उनले विद्युतको माग दिनानुदिन बढ्दै गएको भन्दै उत्पादन बढाउन लाग्नुपर्ने बताए ।
वार्षिकोत्सवका अवसरमा मन्त्री खड्काले कम्पनीको तर्फबाट प्रकाशित ‘एक दशकको यात्रा’ पुस्तक विमोचन गरे ।
प्रतिक्रिया दिनुहोस्