काठमाडाैँ । सभामुख देवराज घिमिरे र राजनीतिक दलहरूका प्रमुख सचेतक बिच कुलिङ अफ पिरियड संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल भएको छ ।
मंगलवार साँझ सिंहदरबारमा प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गरेका हुन्। छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले छानविन समितिले दिएको प्रतिवेदनलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा छलफल भएको बताए ।
उनले कानून निर्माणको बाटोलाई कसरी गुणस्तरीय बनाउने र कमजोरीहरू अब हुन नदिन के गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए । विधायिकी कामलाई विश्वसनिय बनाउनुपर्नेमा सबै एकमत रहेको बताए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिबाट कुलिङ अफ पिरियडमा भएको छेडखानी र त्यसबारे अध्ययन गर्न गठित छानविन विशेष समितिको प्रतिवेदनलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताए । उनले समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएसँगै सभापति निर्वाचनको प्रक्रिया अघि बढाउने बारेमा पनि छलफल भएको बताए ।
सभापति रामहरि खतिवडाले समितिको सभापति पदबाट मंगलवारको प्रतिनिधि सभा बैठकमा राजीनामा दिएको घोषणा गरेका हुन् । प्रतिवेदनमा लेखिएको विषयवस्तुहरू कार्यान्वयनको रूपमा अघि बढाउने र क्रमशः कार्यान्वयनमा लैजाने सहमति भएको बताए ।
प्रतिक्रिया दिनुहोस्