बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत


काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बानियाँले प्रदेश सभाबाट ६३ मत प्राप्त गरेका हुन् ।

११० जना रहेको  प्रदेशसभा सदस्य बैठकमा ९२ जना सांसदको उपस्थिति रहेको थिए । बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत परेको छ । त्यसै गरी मत दिन्न भन्ने पक्षमा ७ मत रहेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (१) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (४) बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गरेका हुन् ।

सत्ता गठबन्धनका एक सांसद भने अनुपस्थित रहे । कुल ११० सदस्यीय संसदमा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई काँग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । काँग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेकाले उनी संसद बैठकमा उपस्थित भएनन् ।

बागमतीमा काँग्रेसका ३७ प्रदेशसभा सदस्य छन् । त्यस्तै एमाले २७, नेकपा (माओवादी केन्द्र) २१, राप्रपा १३, नेकपा (एकीकृत समाजावादी) ७,  नेपाल मजदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टी २ प्रदेश सभा सदस्य रहका छन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा एमालेले ह्वीप नै जारी गरेका थिए ।