मनोज कुमार यादव दुग्ध विकास बोर्डको सदस्यमा नियुक्त


काठमाडौँ । डेरी विज्ञ मनोज कुमार यादव राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समिति सदस्यमा नियुक्त भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार यादवलाई डेरी विज्ञको कोटाबाट दुई वर्षका लागि नियुक्त गरिएको हो।

राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ को दफा ७ को उपदफा (१) को खण्ड (ठ) बमोजिम मन्त्रीस्तरीय निर्णयमार्फत साउन २६ गते यादवको मनोनयन गरिएको हो।

विराटनगर–१०, मोरङ निवासी तथा सूर्योदय मिल्क एण्ड बेभरेज लिमिटेडका सञ्चालक समेत रहेका यादवको कार्यकाल सफल हुने विश्वास गरिएको छ। यादव नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य पनि हुन् ।

एसोसिएसनले उनले डेरी क्षेत्रमा थप विकास, नयाँ प्रवर्द्धनको खोजी र विद्यमान समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेको छ। यादव राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि डेरी उद्योग, दुग्ध प्रशोधन प्रविधि, गुणस्तर व्यवस्थापन र दुग्धजन्य उत्पादनको बजार विस्तारबारे आफ्नो अनुभव र दक्षताको कारण परिचित छन्।

डेरी प्रविधि र व्यवस्थापनसम्बन्धी तालिम, सेमिनार तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएका यादवले नेपालको दुग्ध उत्पादनमा गुणस्तरीय सुधार र किसानमैत्री प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएका छन्।

उनले डेरी व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने, उत्पादन सञ्जाललाई सबल बनाउने र ग्रामीण किसानलाई दिगो आयआर्जनमा सहयोग पुर्‍याउने काममा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।