काठमडौं । उर्जामन्त्री दीपक खड्काले प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई साथ लिएर हिँड्न सरकार तयार रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलविद्युत क्षेत्रका पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि बढाउन तयार रहेको बताएका हुन्। कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको यकिन गरेर विद्युत प्रशारण लाइन निर्माण गर्नुपर्ने बताए ।
“हाम्रो अर्थतन्त्रको अवस्था कस्तो छ, हामीले बुझेका छौं । अर्थतन्त्र भित्र रहेर ठूलो लगानी हुने यो क्षेत्रलाई कसरी सहजीकरण गर्न सकिन्छ । अर्थात यसका लागि कसरी वित्त व्यवस्थापन गर्न सकिन्छ भन्नेकुराको प्रष्ट रुपमा खाका तयार गरेर अगाडी बढेको अवस्था छ,”उनले भनृ “हामीले त्यसै नीजि क्षेत्र भनेका छैनौँ, निजी क्षेत्रको प्रगति, इच्छाशक्तिलाई हेरेर प्रमुख सहयोगीका रुपमा नीजि क्षेत्रलाई लिएका छौं । त्यसकारणले हामीले ट्रान्समिसन लाइनमा पनि ढिलासुस्ती नगरी निजी क्षेत्रलाई लगानी गराएर अघि बढ्दैछौं ।”
ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डका रूपमा ऊर्जा क्षेत्रलाई लिएको बताउँदै दश वर्षका लागि ऊर्जा विकासको खाका सरकारले अगाडि बढाएको बताए । खड्काले सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र ऊर्जा क्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार ऊर्जा विकासमा लागिरहेको दाबी गरे । सरकार ऊर्जा क्षेत्रलाई तिब्र गतिमा अगाडि बढाउन खोजेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्