इजरायलमा बेपत्ता विपिन जोशीको उद्धारको लागि प्रभावकारी कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण


काठमाडाैँ । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका कुटनीतिक पहल अझ प्रभावकारी सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले जोशीको आमा र छोरी हाल इजरायल पुगेको अवस्थामा उनको वास्तविक अवस्था पत्ता लगाई स्वदेश फर्काउने वातावरण निर्माण गर्न माग समेत गरे।

उनले विश्वशान्तीको पक्षमा सधैं उभिएको नेपालका एक नागरिकलाई युद्धको नाममा बन्धक बनाइनु वा बेपत्ता पारिनु गलत मात्र नभई अमानवीय कार्य भएको भन्दै यस्तो कार्य रोकिनुपर्नेमा जोड दिए ।

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । जोशी बेपत्ता हुनुभएको थियो । उहाँको अवस्था अझै अज्ञात छ ।