मधेसमा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न, कुन जिल्लामा कति ?


काठमाडाैँ । गत आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा मधेसमा धान रोपाईं सम्पन्न भइसकेको थियो । तर यस वर्ष मनसुन अवधिमा पनि मधेसमा खडेरी परेपछि अझै धान रोपाईं सम्पन्न हुन सकेको छैन ।

मधेसमा धान रोपाइँ हुने कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये २ लाख ८५ हजार २ सय ३४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाईं सम्पन्न भएको कृषि विकास निर्देशनालय मधेसले जनाएको छ । यस वर्ष मौसम प्रतिकुल बन्दा मधेसमा रोपाईं हुन सकेको छैन । यतिबेला मधेसमा रोपाई सकि सक्नुपर्ने भएपनि अझै रोपाइँ सम्पन्न हुन सकेको छैन ।

कारण हो– समयमै पानी नपर्नु, सिंचाइको व्यवस्था नहुनु । सिंचाइको व्यवस्था नहुँदा र आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले किसानले धान रोप्न नपाएका हुन् । कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीप यादवकाअनुसार साउन सकिनै लाग्दा मधेसमा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको अनुमान गरिएको छ ।

अर्थात अझैपनि १८ प्रतिशत धान रोपाइँ मधेसमा बाँकी नै छ । कृषि विकास निर्देशनालयका अनुसार सबैभन्दा बढी बारामा ९५ प्रतिशत धान रोपाइँ भएको छ । बारामा रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार २० हेक्टरमध्ये ४३ हजार ७ सय १९ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।पर्सामा धान रोपाइँ हुने ३९ हजार ७ सय ३१ हेक्टरमध्ये ३६ हजार ५ सय ५२ हेक्टरमा रोपाइँ भएको छ ।

सिरहाको धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजार हेक्टरमध्ये ३७ हजार ८ सय हेक्टरमा जम्मा ७० प्रतिशत रोपाइँ भएको छ । धनुषामा ४३ हजार ७ सय हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये जम्मा ३० हजार ५ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । उक्त क्षेत्रफलमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ । रौतहटमा ३५ हजार हेक्टरमध्ये ३० हजार ६५ हेक्टरमा अर्थात् ८६ प्रतिशत रोपाइँ भएको छ ।

सर्लाहीमा ४३ हजार ६ सय ९४ मध्ये ३२ हजार ७ सय ७० हेक्टरमा रोपाइँ भएको छ । यो भनेको ६५ प्रतिशत हो । सप्तरीमा भने ७० प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ ।

सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६ सय हेक्टरमा मात्रै रोपाइँ हुन सकेको हो । महोत्तरीको धान रोपाइँ हुने कुल क्षेत्रफल ४२ हजार ५ सय हो । त्यसमध्ये २६ हजार १ सय ३७ हेक्टरमा अर्थात ६१.५ प्रतिशत रोपाइँ भएको छ ।