सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति काँग्रेसको स्पष्ट विमति छः महामन्त्री शर्मा


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन् ।

बिहीवार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । 

व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनैपनि कानूनी प्रावधानको आफ्नो पार्टीले विरोध गर्ने उनको भनाइ छ । शर्माले इन्टेलिजेन्ससम्बन्धी प्रश्तावित विधेयकप्रति पनि चिन्ता व्यक्त गरे। उनले दुई व्यक्तिबीचको टेलिफोन वार्ता समेत सुन्नसक्ने खालको कानून आउन लागेको भन्दै त्यसको संभावित दुरुपयोगप्रति गम्भीर प्रश्न उठाए ।

उनले प्रविधिभ र सञ्चारको माध्यमबाट समाजमा आशा र सकारात्मकता फैलाउनुपर्ने धारणा राखे। उनले सरकार रहँदा समेत सरकारले गर्ने हरेक गलत कामको संसद र संसदबाहिरबाट विरोध गर्ने समेत बताए। काँग्रेसले चुनाव जित्नेगरी नभई समाजमा फैलाइएको भ्रमलाई चिरेर जाने कुरा काँग्रेसको प्राथमिकतामा रहनुपर्ने उनको भनाइ छ ।

उनले सूचना र प्रविधिको बढ्दो दुरुपयोग रोक्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।