मन्त्री दाहालले भनेः पूर्वाधार निर्माण अघि विस्तृत अध्ययन आवश्यक छ


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण सुरू गर्नु अघि विस्तृत अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

नेपाल इन्जिनियरिङ काउन्सिलले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘इन्जिनियरिङ पेशा र नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका’ विषयक कार्यशालामा मन्तव्य राख्दै मन्त्री दाहालले पूर्वाधारलाई दिगो र सुरक्षित बनाउन प्राविधिक, भौगोलिक र सामाजिक पक्षलाई ध्यानमा राखी विशिष्ट अध्ययन अनिवार्य हुने बताए।

उनले नेपालको भौगोलिक विशेषता र चुनौतीअनुसार विकास मोडेल निर्माण गर्नुपर्ने उल्लेख गर्दै, त्यसका लागि उपयुक्त प्रविधि पहिचान र परीक्षणमा जोड दिए। आवश्यक नीति तथा कानुन निर्माण र संशोधनका लागि सरकार सधैं तयार रहेको पनि उनले स्पष्ट पारे।

ठूला राजमार्गको विकास, आधुनिक सुरुङको निर्माण, भौगोलिक बनोटअनुसार सुरक्षित सडक जस्ता संरचनामा नेपाली इन्जिनियरले महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै मन्त्री दाहालले, उनीहरूको सीप र क्षमता अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउन थालेकाले यस क्षेत्र अझ उत्साही बनेको विश्वास व्यक्त गरे।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकास अहिले तीव्र निर्माणको चरणमा रहेको र यसपछि नयाँ अध्याय सुरु हुने धारणा राखे। उनले पूर्वाधारको प्रभावकारी उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै, गुणस्तरीय जनशक्तिबाटै पूर्वाधारलाई आधुनिक दिशामा लैजान सकिने बताए।

त्यसैगरी, नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इन्जिनियरिङ क्षेत्रले विकासका विभिन्न आयाम समेट्ने भएकाले यसको योगदानबिनाको आधुनिक विकास असम्भव हुने बताए।

काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईका अनुसार कार्यक्रममा इन्जिनियरिङ पेशा र काउन्सिलको भूमिकासम्बन्धी विभिन्न विषयमा विज्ञहरूसहित व्यापक छलफल भएको थियो।