सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनप्रति पीडित खतिवडाको असन्तुष्टि, न्यायिक जाँच आयोग गठनको माग


काठमाडौँ । सौर्य एयरलाइन्सको नाइनएन–एमइ, सिआरजे २०० विमान दुर्घटनामा तीन सन्तान गुमाएका प्रकाश खतिवडाले दुर्घटना जाँचबुझ प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा प्रतिवेदनमाथि छलफल हुँदै गर्दा खतिवडाले नेपालको १०९ वटा विमान दुर्घटनाको इतिहासमा सौर्य एयरलाइन्सको दुर्घटना ‘छुट्टै खालको’ भएको दाबी गरेका हुन् ।

उनले प्रतिवेदनमा दुर्घटनाको कारण ‘ह्युमन फ्याक्टर’ देखाइएकोमा सहमति जनाउँदै पनि, सेवा प्रदायक संस्थाको रूपमा नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नउल्लेख गरिएकोमा आपत्ति जनाए। उनको आरोप अनुसार, सेवा प्रदायक संस्थाको अनुमति दिने व्यक्ति जाँचबुझ समितिका संयोजक रतिशचन्द्रलाल सुमनको आफन्त भएकाले नाम नखुलाइएको हो।

खतिवडाले उक्त उडान र यात्रुहरू दुवै अवैधानिक रहेको दाबी गर्दै, आफ्ना ४ वर्षका नातिलाई सौर्य एयरलाइन्सको कर्मचारीको रूपमा देखाइएको र उर्जा मन्त्रालयमा कार्यरत छोरीलाई समेत कम्पनीको स्टाफ बनाएर उडाइएको तथ्य प्रस्तुत गरे । “आर्थिक र व्यापारिक स्वार्थसहित मेरो प्रतिष्ठासँग खेलिएको हो,” उनले भने ।

उनको आरोप अनुसार सरकारले बनाएको जाँचबुझ आयोग नै अवैधानिक छ र प्रतिवेदन नियोजित ढंगले तयार पारिएको हो। अन्य व्यक्तिहरूसँग अन्तर्वार्ता लिइए पनि, तीन सन्तान गुमाएको परिवारसँग कुनै सम्पर्क नगरेकोमा खतिवडाले गुनासो गरे । “पीडितका कुरा सुने पनि न्याय पाएको अनुभूति हुन्छ, तर मलाई मान्छे ठानेनन्,” उनको भनाइ छ।

खतिवडाले न्याय र क्षतिपूर्तिको सुनिश्चितका लागि न्यायिक जाँच आयोग गठन गर्न माग गरे । उनका अनुसार तथ्य र प्रमाणले यो घटना सामान्य विमान दुर्घटनाभन्दा फरक रहेको स्पष्ट पार्नेछ।

२०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो। मृतकमध्ये खतिवडाका ज्वाईं, छोरी र नाती समेत थिए।