काठमाडौँ । २०८१ साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटना अध्ययन गर्न गठित आयोगका संयोजकले आफूमाथि ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले प्रारम्भिक प्रतिवेदन र हालको प्रतिवेदनबीच ठूलो फरक रहेको उल्लेख गर्दै आयोगका अध्यक्ष पक्षपाती भएको दाबी गरेका हुन् । उनले आयोगले उनीसँग अन्तरवार्ता लिन गएका बेला ह्यारेसमेन्ट गरिएको र आफूले नियमित लिइरहेका औषधि समेत रोकेको बताए ।
उनले आयोगका अध्यक्षले भनेकाे कुरा उद्धृत गर्दै भने, “सुशान्त जर्मनीमा जाँदा फेल भएको रहेछ।” यसबारे उनले टेक्निकल पक्षमा केही जानकार नहुँदा पनि, प्रारम्भिक प्रतिवेदन र हालको प्रतिवेदनबिच भिन्नता देखिएको र दोष सबै एउटामाथि थुपारिनु उचित नभएको बताए ।
उनले भने, “मरेर गएको व्यक्तिमाथि दोष थुपारिनु र उसको आत्मालाई दुख नपुगोस् भन्ने मेरो आग्रह हो।” साथै, क्याप्टेनको कमाण्ड भएपछि पनि कोपाइलटमाथि मात्रै शंका किन गरिएको भन्ने प्रश्न उठाए । सौर्य एयरलाइन्सको सो दुर्घटनामा १८ जनाको ज्यान गएको थियाे ।
प्रतिक्रिया दिनुहोस्