एमसीसी परियोजनाअन्तर्गत १८० किमि प्रशारण लाइन निर्माणका लागि १५.४५ करोड डलरको सम्झौता


काठमाडाैँ । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत १५.४५ करोड डलर बराबरको दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

एमसिए नेपालले प्रतिष्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रशारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रशारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग गरेको हो ।

अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरु, अमेरीकी दुतावासका अधिकारीहरुको उपस्थीतीमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसका लागि संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रशारण लाइनहरुको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन लगायतका काम गरिनेछ । हस्ताक्षर कार्यक्रममा बोल्दै एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनियतामा सुधार गर्नुकासाथै क्षत्रिय विद्युत व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर कामगर्न पाउँदा गर्ववान्वित भएको बताए।

सम्झौतापछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गत वर्ष नै सम्झौता भएको बताए। उनले बिहीवार १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको बताए ।

कार्यकारी निर्देशक विष्टले एमसीसी परियोजनालाई नेपालमा समयमै सम्पन्न गराउनका लागि एमसीए नेपाल लागिरहेको बताए । उनकाअनुसार अहिलेसम्मका कामहरु प्रभावकारी हिसावले नै अघि बढिरहेका छन् । ती नै समयमै काम सम्पन्न हुने आधारहरू हुन् ।