उपत्यकाका नदीमा शुद्धता ल्याउने प्रयास भइरहेको छः उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदी र खोलाहरुको शुद्धिकरणका लागि सरकारले विशेष कार्यक्रम अघि बढाइरहेको बताएका छन्।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले वागमती, विष्णुमती, धोवीखोला लगायतका नदीमा सिधै मिसिइरहेको फोहर ढलको व्यवस्थापनका लागि बजेट छुट्याइएको जानकारी दिए।

उनले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष छनोट प्रक्रिया जारी रहेको र पदाधिकारी नियुक्तिपछि बाँकी कामलाई तीव्रता दिने उल्लेख गरे।

मन्त्री सिंहका अनुसार यस वर्ष सिधै नदीमा मिसिने ढलको परीक्षण र नियन्त्रणका लागि विशेष कार्यक्रम तयार गरिएको छ। पहिल्यै लेआउट गरिएका तर प्रयोगमा नआएका ढल प्रणालीलाई प्राविधिक सुधारमार्फत सञ्चालनमा ल्याई नदीबाट निस्कने दुर्गन्ध रोक्ने काम अघि बढाइने उनको भनाइ छ।

“यो बजेट, नीति तथा कार्यक्रममा वागमती, विष्णुमती लगायतका नदीलाई शुद्ध बनाउन ढल व्यवस्थापनदेखि आवश्यक संरचना निर्माणसम्मका लागि रकम छुट्याइएको छ,” मन्त्री सिंहले भने, “ढल व्यवस्थापनमा प्राविधिक समाधान अपनाएर दुर्गन्ध रोक्ने र नदीलाई सफा राख्ने लक्ष्यका साथ काम भइरहेको छ।”

उनले काठमाडौँको दीर्घकालीन समस्या बनेको अव्यवस्थित बस्ती तत्काल हटाउन नसकिने स्पष्ट पारे। यस विषय संवेदनशील भएकाले केवल इच्छा मात्रले सुकुम्बासी हटाउन सकिने अपेक्षा नगर्न आग्रह गर्दै उनले व्यावहारिक समाधान खोजिने बताए।