प्रधानसेनापतिको आग्रहः विश्वास गर्नुस्, काठमाडौँ-तराई द्रुतमार्गको काम नेपाली सेनाले समयमै सक्छ


काठमाडाैँ । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौँ-तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीवार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो ।

जसमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरे । उनले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताए । उनले अब बनाउनुपर्ने कामहरू छिटो सकिने किसिमका रहेकाले द्रुत गतिमा काम अघि बढ्ने बताए ।

प्रधानसेनापति सिग्देलले फास्ट ट्रयाक बाहेकका अन्य योजनाहरु खोकनामा नआउने ग्यारेन्टी भए धेरै बाधा स्थानीहरूबाट नहुने बताए । अहिले बनेका संरचनाले धेरै हदसम्म प्राकृतिक विपद्बाट सुरक्षित रहेको बताए । ठेकेदारहरूबाट समयमा काम नभएको समस्या रहेको पनि गुनासो गरे ।