गुगल म्यप्सद्वारा नेपालमा स्ट्रिट भ्यू सुरुवात: अब विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने


काठमाण्डौँ । गुगल म्यप्सले शुक्रबारबाट नेपालमा स्ट्रिट भ्यू सुरु गरिएको घोषणा गरेको छ। आजदेखि संसारको कुनै पनि कुनाबाट कसैले पनि गुगल म्याप्सकाे स्ट्रिट भ्यू चित्र मार्फत नेपालको अद्भुत भू–दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सक्ने जनाइएकाे छ ।

अब काठमाडौँका सडक गल्लीहरू, शान्त सुन्दर तराई क्षेत्र, हिउँले ढाकिएका राजसी हिमालहरूको मनोरम भव्य दृश्य देखाउने घुमाउरा सडकमा भर्चुअल यात्रा गर्न सकिने छ । यी सबै फोन वा कम्प्युटरबाट सजिलै सम्भव छ।

यसले तपाईँलाई अनुभूतिको संसारमा प्रवेश गराएर नेपालको समृद्ध वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ।

यस सुरुवातले विश्वलाई नेपाल अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ जसले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना दुवैलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउनेछ।

नेपालका नवीनतम दृश्यहरू हेर्नको लागि, आफ्नो फोन वा कम्प्युटरमा गुगल म्याप्स खोल्नुहोस्। ३६०डिग्री भ्यू वा पहेँलो स्ट्रिट भ्यू पेगम्यानमा क्लिक गर्नुहोस्। अनि अन्वेषण सुरु गर्नुहोस्।